बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन इकाई स्थापना गरिएको छ ।आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो ।
जलन उपचारका लागि अस्पतालमा तीन जना सर्जन रहेको र नर्सिङ विभागका तीन जना नर्सले जलन उपचारसम्बन्धी तालिम समेत लिइसकेकाले धौलागिरि अञ्चलका बिरामीलाई जलनसम्बन्धी उपचार सेवा दिने उद्देश्यले इकाई स्थापना गरिएको धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण तिवारीले जानकारी दिनुभयो ।
अस्पतालमा कार्यरत सर्जन डाक्टर शङ्कर लामिछाने, डाक्टर आशिष सापकोटा, डाक्टर रोजिना सुवेदी तथा जलन उपचारसम्बन्धी तालिम प्राप्त नर्सहरूले बिरामीलाई सेवा दिनुहुने उहाँले बताउनुभयो । जलन इकाईमा एसि जडित चार बेडको ड्रेसिङ कक्ष र आवश्यक उपकरणहरुको समेत व्यवस्थापन गरिएको छ ।
जलन इकाईबाट १० देखि १५ प्रतिशतसम्मका जलनका बिरामीहरूको उपचार गरिने डाक्टर तिवारी जानकारी दिनुभयो । जलनका बिरामीलाई उपचारका साथै मानसिक परामर्शको समेत आवश्यकता रहेकाले अस्पतालमा ९ महिनादेखि बन्द रहेको मानसिक रोग सेवा समेत सुचारु भएको छ ।
ग्रामीण प्रसूति भिडियो एक्स–रे तालिम साइटको सुरुवात गरिएको अस्पतालमा प्याथोलोजी सेवा विस्तार भएपछि रोगको पहिचान र निदानमा बिरामीले राहत महसुस गरेको बताइएको छ । धौलागिरि अस्पतालले काठमाडौँस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग जलनका बिरामी उपचार गर्ने विषयमा पनि सहकार्यको गृहकार्य गरिरहेको छ ।
हाम्रो जनशक्तिलाई तालिमदेखि प्राविधिक सहयोग गर्न सुष्मा कोइराला अस्पताल तयार रहेको डाक्टर तिवारीले बताउनुभयो । जलनदेखि प्लाष्टिक सर्जरीको विषयमा चिकित्सकको टोलीदेखि प्राविधिक सहयोग गर्नेदेखि लिएर बागलुङबाट रिफर भएका बिरामीलाई उपचारमा विशेष छुट दिने विषयमा समेत कुरा भइरहेको डाक्टर तिवारीले जानकारी दिनुभयो ।