नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

लोकप्रिय

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा मङ्गलवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट मिना देउवा र आर्मीको तर्फबाट तुलसा बोहराले १-१ गोल गरेका थिए । खेल अवधिभर पुलिसमाथि दबाब बढाए पनि आर्मीले जित निकाल्न सकेन । निर्धारित समयमा खेल १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके । यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् ।
खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् । पुलिसले अब उपाधिका लागि बुधबार हुने रौतहट फुटबल सङ्घको टोली र अर्को विभागीय टोली एपीएफबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।

ताजा समाचार

Related Articles