इलाम- नेपाली अर्थोडक्स चिया चीनमा निर्यात हुन थालेको छ । नेपालको पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चिया चीनमा निर्यात हुन थालेको हो ।
नेपाली चियाको अध्ययनका लागि चीनका चिया व्यवसायीहरुको टोली एक वर्ष अघि इलाम आएको थियो । गुणस्तर मापन र उत्पादनको अवस्थाको अध्ययन गर्न आएको टोलीले चियाको माग समेत गरेको थियो ।
चिनियाँ व्यवसायी, नेपाली चिया व्यवसायी र किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनाका बिषयमा भएको छलफलपछि चीनमा चिया निर्यात भएको हो ।
नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत अब्बल भएपछि चिनियाँ व्यवसायीको आकर्षण नेपाली चियामा भएको हो ।
चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा इलाममा उत्पादन भएको अर्थोडक्स चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेका थिए ।
सन् २०२३ र २०२४ मा भएको प्रतिस्पर्धामा नेपाली चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको हो । फलस्वरुप चिनमा नेपाली चिया निर्यात हुन थालेको गोर्खा टि स्टेटका प्रबन्धक बुद्धिबल राईले बताउनुभयो ।
गोर्खा टि स्टेटबाट सन् २०२४ मा ६ हजार किलो तयारी चिया चीनमा निर्यात भएको थियो । चीनको बजारमा नेपाली चियाले युरोपमा भन्दा राम्रो मूल्य पाएको हो । गोर्खा टि स्टेटसँगै अर्गानिक प्रमाणित भएको अर्थोडक्स चिया निर्यात हुन थालेको हो ।
नेपालको चिया चीनमा निर्यात हुँदा व्यवसायीले भारतीय बजारको बिकल्पको रुपमा लिएका छन् । चिनमा चिया निर्यातले भारतमा निर्भर हुने नेपाली चियाको बजार बिस्तारमा सहयोग पुगेको व्यवसायी चिरञ्जिवि दाहालले बताउनुभयो ।
नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतको बजारमा निर्भर हुने गरेको छ । चिनमा चिया निर्यातपछि भने नेपाली व्यवसायी उत्साहित भएका छन् ।