खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
विद्यालय शिक्षा ऐनको माग गर्दै आएको नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउन शिक्षक–कर्मचारीहरुलाई आव्हान गरेको छ ।
आफ्ना मागहरुका बारेमा सरकारसँग सोमबबार भएको वार्तामा सहमती जुट्न नसकेपछि शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले यस्तो आग्रह गर्नुभएको हो । २८ औँ दिन मंगलबार पनि काठमाडौँ केन्द्रित शिक्षकहरुको आन्दोलन जारी रहनेभएको छ । शिक्षा मन्त्रालयमा विभिन्न विषयमा सोमबार लामो छलफल भयो तर निष्कर्षमा पुग्न नसकिएको भन्दै आफूहरुको आन्दोलन जारी रहेको उहाँले बताउनुभयो ।
राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईँदैन उहाँले भन्नुभएको छ, त्यसैले आन्दोलन बलियो गराऔँ
उहाँले भन्नुभएको छ, हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११ः०० बजे माइतीघर मण्डला आउनुहोला । 
यसैबिच सरकारले शिक्षक महासङ्घको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको जनाएको छ ।
राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता भएको थियो ।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले र शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिनुभयो । उहाँले केही विषय टुङ्गो लगाउन बाँकी रहेपनि वार्ता सकारात्मक रूपमा अगाडि बढेको जानकारी दिनुभयो ।
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको बताउनुभयो ।




