खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
काठमाडौँबाट चोरी भएको मोटरसाइकल मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा फेला पारी प्रहरीले सवारी धनीलाई बुझाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. १४ बस्ने सुविन सापकोटाको बा.प्र.०२–०१६ प १६९२ नं.को मोटरसाइकल राक्सिराङ गाउँपालिकाको चैनपुर क्षेत्रमा फेला पारी मोटरसाइकल धनी सापकोटालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत पुस २१ गते बिहान करिब ११ः०० बजेको समयमा सापकोटाले घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएकोमा प्रहरीले खोजतलासको क्रममा प्रहरी चौकी चैनपुर, मकवानपुरको वडा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आवश्यक अनुसन्धानपछि उक्त मोटरसाइकलका धनी २२ वर्षीय सापकोटालाई प्रहरी कार्यालयमा बोलाई बुझाईएको छ ।
यस्तै कीर्तिपुर नगरपालिका वडा नं. १ बाट हराएको बा.प्र. ०२–०५५ प ७६२९ नं. को मोटरसाइकल मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ४ फेला पारी प्रहरीले सवारी धनी मदन भट्टलाई प्रहरी कार्यालयमा बोलाएर बुझाएको छ ।
प्रहरी नायव उपरीक्षक अर्यालले नुवाकोट जिल्ला बेलगढी नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाडौँ बस्ने भट्टको मोटरसाइकल यही वैशाख ५ गते हराएकोमा फेला पारी बुझाएको बताउनुभयो ।
यसैगरीे धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ५ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमाने बस्ने युवराज खड्काको मोटरसाइकल हेटौँडाको पदमपोखरीमा फेला पारी प्रहरीले खड्कालाई मंगलबार बुझाएको छ ।
गत चैत २६ गते राति हेटौँडा ४ शितलमहल चोकमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको ना ४७ प २७९४ नम्बरको उक्त मोटरसाइकल खोजतलासको क्रममा प्रहरी चौकी पदमपोखरी मकवानपुरको क्षेत्रमा फेला पारी मोटरसाइकल धनी खड्कालाई बुझाइएको हो ।
साथै उक्त मोटरसाइकल चोरीमा संलग्न रहेका अभियोगमा प्रहरीले हेटौँडा ३ का वर्ष २३ को सुजन स्याङतान र वर्ष २२ को दिपेश तामाङलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।




