नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा
काठमाडौँ, वैशाख १७ गते ।
बुधबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । 
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहाइ गरिएको छ । अनधिकृत पत्र लेख्नुहुने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ ।”
जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको आज गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो ।
यसैबिच यसअघि सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनधिकृत रूपमा पत्र लेख्नेको विषयमा छानबिन गरी कानुन कारबाही प्रक्रिया अघि बढाइसकेको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरिसकेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस अदालतको शाखा अधिकृतले चनं १९२७७ मिति २०८२/०१ /१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकाले उक्त माथि उल्लेखित चनं र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरु गरिएको ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।”
