काठमाडौँ, वैशाख १७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्नुहुँदै नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गर्नुभयो ।
उहाँले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
“रातिमा चार वटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ ।’’ उहाँले भन्नुभयो, “त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङग्रो बजाउनुपरेको छ । यो काममा तपाईंहरू लाग्नुहोला ।’’
राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट गर्नुभयो ।




