राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १९ गते ।
हेटौँडामा सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता–२०८२ मा चितवन जिल्ला फुटबल संघले विजय यात्रा सुरु गरेको छ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा रिगल हेटौँडा रिसोर्ट एन्फ मकवानपुरलाई टाइबेकरमा हराउँदै चितवन फुटबल संघले विजय यात्रा सुरु गरेको हो ।
खेलको निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । चितवनले ५–४ को जित निकालेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको केहीबेरमै चितवनका लागि अनिता गुरुङले हेडमार्फत गरेको गोलले अग्रता लिएको थियो । त्यसको केहीबेरमै मकवानपुर १० खेलाडीमा झरेको थियो । मकवानपुरका खुसाना राईले चितवनको गोलरक्षक सुजता तामाङलाई फाउल गरेपछि रेफ्रीले राईलाई रातोकार्ड दिएका थिए । खेलको अन्तिम मिनेटमा मकवानपुरका लागि सजिना स्याङ्तानले गोल गर्दै एक÷एकको बराबरीमा ल्याउनुभएको थियो ।
त्यसपश्चात खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच चितवनका अनिता गुरुङ घोषित हुँदै नगद १० हजारसहित ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगितामा शनिबार बाराको नवजनजागृति क्लव सिमरा र संकटा क्लवको खेल हुनेछ ।
छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गरेको फुटबल संघ मकवानपुरले यसवर्ष महिला गोल्डकप गरेको हो । दुई विभागीय टोली, एउटा ए डिभिजन टोली र पाँच वटा जिल्ला गरी आठ टिमको प्रतियोगितामा सहभागिता रहेको छ । विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफसहित संकटा क्लव तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्रदान गरिनेभएको छ । विधागत उत्कृष्टलाई नगदसहित ट्रफी पाउने छन् भने हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपियाँ प्राप्त गर्ने छन् । गोल्डकपको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका तथा प्रायोजकमा बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिकालगायत स्थानीय संघसंस्था रहेका छन् । प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles