खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
मकवानपुरको सबैभन्दा उचाईमा रहेको सिमभञ्ज्याङस्थित तालमा डुङ्गा सञ्चालनमा ल्याइएको छ ।
थाहा नगरपालिका ४ स्थित करुणाभूमि सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने पर्वतीय तालमा डुङ्गा सञ्चालनमा ल्याइएसँगै डुङ्गा शयरको मज्जा लिन पाइने भएको हो । समुन्द्री सतहबाट २४८८ मिटरको उचाईमा अवस्थित सिमभञ्ज्याङ बजार नजिकै रहेको तालमा बोटिङ सञ्चालनको शुभारम्भ शुक्रबार थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले गर्नुभएको थियो ।
सो अवसरमा नगरप्रमुख विष्टले बोटिङ सञ्चालनले पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
करुणाभूमि सामुदायिक वन उपभोक्ता समुहको पहलमा निर्माण गरिएको तालमा पर्यटक लक्षित गरी डुङ्गा सञ्चालनमा ल्याइएको वन उपभोक्ता समुहका अध्यक्ष विनोद लामाले जानकारी दिनुभयो ।
सिमभञ्ज्याङमा हेटौँडा, काठमाडौँलगायतका स्थानबाट गर्मी छल्नसमेत उपयुक्त हुने र पर्यटकको बसाईँ लम्ब्याउनसमेत उद्देश्य राखेर तालमा डुङ्गा सञ्चालनमा ल्याइएको हो, उहाँले भन्नुभयो ।
उहाँले एउटा ताल निर्माण पुरा भएको, अर्को ताल निर्माणाधीन रहेको र थप एउटा ताल आगामी आर्थिक वर्ष बनाउने गरी तयारी गरिएको योजना सुनाउनुभयो ।
हेटौँडा र तराई मधेशका आन्तरिक पर्यटकका लागि गर्मीयाममा उपयुक्त स्थल हुने छ उहाँले भन्नुभयो, हेटौँडालगायत तराईमा गर्मीले खपी नसक्नु छ, हामी भने यहाँ जाडोले कामिरहेका छौँ ।
बागमती प्रदेश सरकारको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत ताल निर्माणमा डेढ करोड रुपियाँ खर्च भईसकेको छ ।
