हेटौँडा, फागुन १९ गते ।
प्रकृतिका पूजक माझी समुदायले आफ्नो पर्व लदि पूजा मकवानपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाउनेभएका छन् ।
नोल माझी उत्थान सङ्घ केन्द्रीय समितिको आयोजनामा लदि पूजाका अवसरमा मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जुइनामा सामुहिक रुपमा विशेष कार्यक्रम गरी मनाइनेभएको हो ।
सङ्घले आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन २० गते जुइनामा विशेष कार्यक्रम गर्ने जानकारी दिएको छ ।
सङ्घका अध्यक्ष चिनीमाया माझीले लदि पुजा माझी समुदायको प्रमुख चाड भएको भन्दै यस पर्वका अवसरमा पूजाआजासँगै शुभकामना आदान प्रदान गर्न लागेको जानकारी दिनुभयो ।
सङ्घका महासचिव बविन्द्र माझीले माझी समुदाय देशका विभिन्न भागमा छरिएर रहेको भन्दै पर्वका अवसरमा पहिलो पटक मकवानपुरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।
लदि पुजाका अवसरमा फागुन २० गते बकैया गाउँपालिकाको जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम हुनेभएको छ ।
लदि पुजाका अवसरमा बागमती प्रदेश सरकारले यही फागुन २० गते बिदा दिने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा माझी समुदायलाई बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा समेत सूचना सार्वजनिक गरिएको छ ।
माझी समुदायले लदि पूजा फागुन महिनाको तेस्रो (साईली) मङ्गलबार गर्ने प्रचलन रहेको छ ।
माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरुमा प्रमुख बसोवास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरुको पुख्र्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेशालाई मुख्य पेसाको रुपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरुको बसोबास प्रायःजसो नदी किनारमा रहेको छ ।