यसवर्षको मनसनुजन्य विपद्‌बाट करिब २० लाख जनसंख्या प्रभावित हुने आकलन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
नेपालमा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब २० लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिहरुको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब चार ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकज्यूको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।

बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरुको मौज्दात तथा दक्ष जनशक्तिहरुको विवरण समेटिएको ’मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरेको छ ।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ईन्जिनियर दिनेश प्रसाद भट्टले चोभार गल्छीमा नदी प्रवाह सुचारु लगायतका प्रस्ताव पेश गर्नु भएको थियो ।

प्राधिकरणद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा बैठकले चोभार गल्छी साँघुरो भई गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण बागमती नदीमा पानीको सतह बढ्न गई काठमाडौं उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खु लगायतका भू–भागहरुमा डुबान भएको हुँदा पुनः उक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको उल्लेख छ ।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८– २०३०) को कार्यान्वयनको अवस्थाको सम्बन्धमा तयार भएको वार्षिक अनुगमन प्रतिवेदनबारे बैठकलाई जानकारी गराइएको थियो ।

ताजा समाचार

Related Articles