हेटौँडा, जेठ १८ गते ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सर्वसाधारणसँगको भेटघाट बन्द गरेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारी थालेको छ । 

मन्त्रालयले शनिबारबाट सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेर मन्त्रालयका कर्मचारी आगामी आवको बजेट तर्जुमामा जुटेका हुन् ।

मन्त्रालयको प्रवेशद्वारमा आव २०८२/८३ को बजेट तर्जुमासम्बन्धी काम भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्म यस मन्त्रालयमा सर्वसाधारणका लागि भेटघाट बन्द गरिएको सूचना टाँस गरिएको छ ।

यही जेठ १४ गते आगामी आवको नीति तथा कार्यक्रम बागमती प्रदेश सभामा पेस भएकोमा आव २०८२/८३ को बजेट आगामी असार १ गते ल्याउने गरी प्रदेश सरकारले योजनाको माग, प्रविष्ट गर्ने, छनोटलगायतलाई तीव्र बनाएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले आगामी आवको बजेट बनाउने प्रक्रिया सुरु भइसकेको भन्दै आर्थिक विधेयक र आर्थिक सर्वेक्षण बनाउने तयारीमा जुटिरहेको जानकारी दिनुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट बनाइने बताउनुभयो ।

नागरिकलाई अधिक लाभ हुने क्षेत्र र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण हुने उहाँका भनाई छ ।




