हेटौँडा, वैशाख ११ गते । यातायात स्वरोजगार मजदुर व्यवसायीहरुले रातो नम्बर प्लोटका तीन पाङ्ग्रे सवारी साधनमा यात्रु तथा माल सामान ओसार पसारमा रोक लगाउन माग गरेका छन् ।
विचौलियाका कारण भित्रिएका तीन पाङ्ग्रे सवारीसाधनले हेटौँडा अस्त व्यस्त बन्दै गएको आरोप लगाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
नेपाल अटो तथा विद्युतीय यातायात व्यवसायी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर सङ्घलगायतका आधा दर्जन तीन पाङ्ग्रे सवारीसाधन सञ्चालक सम्बद्ध सस्थाहरुले हेटौँडा उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै पर्मिट नभएको तीन पाङ्ग्रे साधनलाई कारवाही गरी विस्थापित गर्न र यातायात कार्यालयबाट लापरवाही गरी पर्मिट दिने काम रोक्न माग गरेका छन् ।
नगरप्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै ती संस्थाहरुले हाल हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र तीन पाङ्ग्रे सवारी साधन चार हजार पाँच सयभन्दा बढी गुडी रहेको जनाएका छन् ।
पेट्रोलियम पदार्थको मुल्यको कारण ईन्धनबाट चल्ने अटो विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न आकर्षित भई रहेको भन्दै रुपान्तरण कार्य कार्यान्वयन र व्यवस्थापन कसरी गर्ने भन्ने विधिको अभाव रहेको भन्दै आवश्यक विधि निर्माण गर्न ध्यानाकर्षणपत्र मार्फत माग गरिएको छ ।
हाल रातो नम्बर प्लेटको तीन पाङ्ग्रे सवारी साधन बिक्री गरी पछि भाडाको कालो नम्बर प्लेट दिलाउँछौ भन्दै आएको अवस्था रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
नेपाल अटो तथा विद्युतीय यातायात व्यवसायी सङ्घका अध्यक्ष भीम प्रसाद गौतमले बजारमा रातो नम्बर प्लेट अर्थात् निजी अटोले समेत कानुनको अवज्ञा गर्दै यात्रुलगायतको सामान समेत ओसार पसार गर्दै आएका कारण आफूहरु मर्कामा परेको बताउनुभयो ।
स्टिकरको जाँच अधिकार र जिम्मेवारी नगर प्रहरीलाई र सट्टापट्टाको नाममा ठग्ने काम तत्काल रोक्नु पर्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख लामाले पर्मिट नभएका र स्टिकर नलगाएका तीन पाङ्ग्रे सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले उपमहानगरपालिकाले आवश्यक विधि र नीति बनाएर पेट्रोलका तीन पाङ्ग्रे सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सहजीकरण गर्ने बताउनुभयो ।




