हेटौँडा, जेठ १८ गते ।
मकवानपुर, थाहा नगरपालिका-३ थानाबजारबाट अवैध लागूऔषध गाँजा करिब ८० किलो १ सय २० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-१० बस्ने २८ वर्षीय मधुसुदन अधिकारी र सिन्धुली दुधौली नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.५ च ४४११ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १३ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मधुसुदन र सुमोमा सवार नवराजलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-६ रामनगर शिवमन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ लोनियनपुर बस्ने १९ वर्षीय बिक्रम घरूक र डुडुवा गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल खटिक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र मोबाइल २ थान सहित कोहलपुर नगरपालिका-५ एनसिसि चोक बस्ने २५ वर्षीय सुरेश मल्ललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ३० मिलिग्राम सहित तनहुँ ऋसिङ गाउँपालिका-३ सोलुङ टोल बस्ने ३७ वर्षीय दलराज मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने ३८ वर्षीय युवराज पौडेललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३७ मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय बिबेक अधिकारी, सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरीले को.१ ज ३१२१ नम्बरको म्याजिकमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दैलेख, नारायण नगरपालिका-८ ठालुडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र कुमार थापा र सोही नगरपालिका-२ बस्ने ३१ वर्षीय दिपक कुमार थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



