विपद् पूर्वको तयारी गर्न प्रहरी संगठनलाई निर्देशन

लोकप्रिय

काठमाडौँ, जेठ २० गते । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको निरीक्षण गर्नु भएको छ।
उक्त अवसरमा मन्त्री लेखकले मानिसको जीवन बचाउन र धनसम्पतिको रक्षाका लागि भएसम्मको प्रयत्न गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो। उहाँले यसपालीको मनसुनमा विगतमा भन्दा बढी पानी पर्न सक्ने संभावना रहेको पूर्वसुचना आइसकेकोले पूर्वतयारी पनि विगतको भन्दा बढी नै गर्नु पर्ने बताउनु भयो। गृहमन्त्री लेखकले विगतका घटनाबाट पाठ सिकेर पूर्ण तयारीका साथ चनाखो भएर बस्न प्रहरी संगठनलाई निर्देशन पनि दिनु भयो।
निमित्त गृह सचिव जय नारायण आचार्यले मानिसले संकटका बेला सरकार खोज्ने र विपद्का बेला सबैभन्दा पहिले पुग्ने सरकार प्रहरी नै भएको बताउनु भयो। उद्धार कार्यमा खटिदा सबैसँग समन्वयमा रहेर काम गर्न पनि आचार्यले आग्रह गर्नु भयो।
प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का चुनौती सामना गर्न अन्य निकायसँगको सहकार्यमा प्रहरी तयारी अवस्थामा बसेको जानकारी गराउनु भयो। बिफ्रिङमा सातै प्रदेशका गुल्म प्रमुखहरुले आ-आफ्नो क्षेत्रको जोखिम अवस्था र पूर्वतयारीबारे जानकारी गराउनुभएको थियो।
सो अवसरमा विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन तथा खोज उद्धार सामग्रीहरु पनि देखाइएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, गृह मन्त्रालयका सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी, विपद् तथा द्वन्द्व महाशाखा प्रमुख सहसचिव डा.टोकराज पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठको पनि उपस्थिति थियो।
यसअघि गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हल्चोक पुगेर सशस्त्रको पूर्वतयारीबारे जानकारी लिनु भएको थियो।

ताजा समाचार

Related Articles