हेटौँडा, जेठ २० गते । ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौँले मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ स्थित कालिवनमा सामरी युनिट स्थापना गरिनेभएको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको सोमबार शिलान्यास गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले प्रदेशमा रहेका करिब छ लाख किसानको सूचीकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिमचरणमा पुगेको भन्दै प्रदेशका छ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने बताउनुभयो ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोश्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीले ४४ कठ्ठा जमिनमा च्याउसँगै च्याउको बिउ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जनले जानकारी दिनुभयो ।

उच्च प्रविधिको प्रयोग गरेर च्याउ उत्पादन गरिने भन्दै उहाँले आगामी असोजदेखि दैनिक एक हजार र अर्को वर्षदेखि दैनिक तीन हजार किलो च्याउ उत्पादन गर्ने बताउनुभयो ।

सामरी युनिटमा तीन वर्षमा १५ करोड लगानी गर्ने र पछि थप नौ करोड रुपियाँ लगानी गर्ने उहाँले बताउनुभयो । भदौदेखि कम्पोष्ट मल उत्पादन गरी बिक्री गर्ने र च्याउ उत्पादन तालिमसँगै च्याउको बिउ पनि बिक्री गर्ने लक्ष्य रहेको बताईएको छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु केशवप्रसाद पोखरेल, विन्दु श्रेष्ठ, मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडाध्यक्ष दिपेश दाहाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाई, निवर्तमान वडाध्यक्ष टीका दाहाल, अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाललगायतको आतिथ्यता रहेको थियो ।




