हेटौँडा, जेठ २४ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाका जोखिमपूर्ण रुपमा घरमा नै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्न वर्थिङ्ग सेन्टर स्थापना गरिएको छ । 

कुपोषणको अवस्था जटिल रहेको कैलाशमा कडा खालको कुपोषण भएको बालबालिकाको रेखेदेखका लागि उपचार केन्द्र पनि सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिकाको वडा नं. ४ स्थित ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर तथा ओटिसी सेन्टरको शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गर्नुभयो ।

उहाँले होम डेलिभरीको अन्त्य गर्न वडावडामा स्वास्थ्य चौकीसहित वर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो ।
आमा र बच्चाको स्वास्थ्य सुरक्षासँगै होम डेलिभरीको अन्त्यका लागि वर्थिङ्ग सेन्टर सञ्चालन गरिएको हो अध्यक्ष मुक्तानले भन्नुभयो, आगामी आर्थिक वर्षदेखि कैलाशका सबै वडावडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउने योजनामा छौ ।

गर्भवती र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरुकै हेरचाह र उपचार गर्दा जोखिमबाट बच्न र बचाउन सकिने भएकाले वर्थिङ्ग सेन्टरमा आएर सेवा लिन उहाँले आग्रह गर्नुभयो ।

प्रत्येक वडामा आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रम भइरहेको छ, भौलोलिक विकटताका कारण होम डेलीभरी गराउनेको संख्या बढेको उहाँले भन्नुभयो यो अवस्थाको अन्त्य गर्न स्वास्थ्य स्वंमसेविकाको ठुलो भूमिका रहन्छ, होम डेलीभरीलाई शून्यमा झार्नु पर्छ ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले घरमा सुत्केरी गराउनुभन्दा वर्थिङ सेन्टरमा स्वास्थ्यसँगै आमा र बच्चाको सुरक्षाका लागि उचित हुने बताउनुभयो । गाउँपालिकाले सुत्केरीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको उहाँले बताउनुभयो ।

वडा नम्बर ४ का वडाध्यक्ष तीलकबहादुर मुक्तानले वर्थिङ्ग सेन्टरको स्थापनासँगै सुत्केरी गराउन डोकोमा घण्टौं बोकाएर प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि १३ लाख लगानीमा वर्थिङ्ग सेन्टर निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा जग्गादाता कर्णबहादुर थिङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।



