काठमाडौँ, जेठ २४ गते । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलाको अवलोकन गर्नुभएको छ ।

आज मेलाको अवलोकन गर्दै उहाँले, युवा लक्षित सिप सिकाइ नविनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त भएको प्रतिक्रिया दिनुभयो । २०८२ युवालाई तालिम दिने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेशासँग सम्बन्धित १ सय घण्टे तालिम सञ्चालन गरिरहेको छ । उहाँसँग कोशी प्रदेश, ओखलढुङ्गा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ पनि हुनुहुन्थ्यो ।

मुख्यमन्त्री लामालाई मेला निर्देशक समितिका सदस्य सुदीप ढकाल र तालिम संयोजक देवेन्द्र के. सी. ले अवलोकन गराउनुभएको थियो । यस क्रममा मुख्यमन्त्री लामाले, प्रशिक्षक र प्रशिक्षार्थीसँग प्रशिक्षण अभ्यासका विषयमा जानकारी लिनुभएको थियो । यस्तै वारिस्ता तालिम लिने प्रशिक्षार्थीले बनाएको कफी पिउनुभएको थियो । मेला सञ्चालनको उद्देश्य र यसका अपेक्षित नतिजाका विषयमा जानकारी लिएपछि उहाँले भन्नुभयो, ‘एउटै छानामुखि परम्परागत सिपदेखि प्रविधिसम्मका सिप सिकाउनु काठमाडौँ महानगरपालिकाको उदाहरणीय काम हो । यसले सबै खालका सम्भावनाहरुमा युवाहरुको पहुँच वृद्धि गर्छ । तालिमले रोजगारमा जाने मात्र होइन आफैँ स्वरोजगार बनेर अरुलाई रोजगार दिने आत्मविश्वाश पनि दिएको पाएँ । यो अझ खुशीको कुरा हो ।’

सिपयुक्त जनशक्तिको महत्वमाथि जोड दिँदै उहाँले स्वदेशमा होस् कि विदेशमा, जहाँ पनि सिपयुक्त जनशत्तिःको आम्दानी सामान्य व्यक्तिभन्दा दोब्बर तेब्बर हुने बताउँदै प्रशिक्षण सकेपछि रोजगारदातासँग सिधै सम्पर्क हुने, स्वरोजगार बन्न चाहनेलाई सहयोग दिने योजनाले प्रशिक्षणको लाभलाई दिगो बनाउने धारणा राख्नुभयो ।

प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूबाट सञ्चालित तालिमहरूलाई एकीकृत गरेर सीटीइभीटीमार्फत एकद्वार प्रणालीमार्फत योजना बनाएका छौँँ । यसरी तालिम प्राप्त जनशक्तिलाई प्रणालीमा आवद्ध गराएर रोजगारदाताले खोजेको बेला पाउन सक्ने बनाउन लागेको उहाँको भनाइ थियो ।

महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला सञ्चालन गरेको हो । शिक्षा, सिप, श्रम र उत्पादनलाई जोडेर देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने मेलाको अपेक्षित नतिजा हो ।

प्रशिक्षण सम्पन्न भएपछि २ दिने ‘पोष्ट मेला’ कार्यक्रम हुनेछ । दीक्षान्त समारोह, प्रमाणपत्र वितरण र तालिम प्राप्त व्यक्तिहरूलाई उद्योगहरूसँग जोड्ने गरी पोष्ट मेला चल्नेछ ।




