बजेट निर्माणको तयारीमा मकवानपुरका स्थानीय तह

लोकप्रिय

हेटौँडा, जेठ २५ गते ।
मकवानपुरको स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालेका छन् ।

संघीय सरकारले जेठ १५ गते बजेट ल्याइसकेको र बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भई आगामी असार १ गते बजेट ल्याउने तयारी गरिरहेको समस्यमा मकवानपुरका स्थानीय तह पनि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका हुन् ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा राक्सिराङ गाउँपालिकाले गाउँपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेटको तयारीको क्रममा सरोकारवालाहरुसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम र गाउँपालिका कार्यक्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुबीच समन्वय बैठक गरी छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कृषि, पूर्वाधारसँगै चेपाङलगायतका विपन्न समुदाय लक्षित गरी ल्याउने तयारी गरेको जानकारी दिनुभयो । बजेटका बारेमा सरोकारवालाहरुसँग भएको पूर्व छलफलमा संविधान सभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सभाका पूर्व सदस्य ओमबहादुर ग्लान, गाउँपालिका उपाध्यक्ष वनस्थम थिङ, गाउँपालिकास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले सामाजिक क्षेत्रसँगै उत्पादनसँग जोडेर आगामी आवको नीतिथा तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभएको थियो ।

हेटौँडा उपमहानगरपालिकाले उपमहानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशन आगामी असार १० गते मंगलबार गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलेले असार १० आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी पालिकाले तयारी गरिरहेको बताउनुभयो । उहाँले आगामी आवको नीति तथा कार्यक्रम र बजेट पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षालगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने गरी तयारी सुरु गरिएको जानकारी दिनुभयो ।

यस्तै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले तोकिएको समय सीमाभित्र नै आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याइने भन्दै कार्यपालिकाको बैठक छिट्टै बसेर नीति तथा कार्यक्रम र बजेट ल्याउने मिति तय गरिने बताउनुभयो ।
उहाँका अनुसार कृषि, पूर्वाधार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आन्तरिक तयारी थालिएको छ ।

बागमती गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रम र बजेट विभिन्न चरण पुरा ल्याउने तयारीसँगै कार्यतालिका सार्वजनिक गरेर बस्ती र टोलस्तरबाट योजना छनोट सुरु गरेको छ ।
स्थानीय राजस्व परामर्श समिति र स्रोत अनुमान तथा बजेट सीमा
निर्धारण समितिको बैठक बसेर को बैठक बसेर राजस्व प्रक्षेपक्ष र सीमा निर्धारणलगायतका कार्य सम्पन्न गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय असधकृत ओमबहादुर दर्जीका अनुसार बस्ती र टोलस्तरबाट योजना छनोट कार्य जेठ २७ गतेसम्म हुने छ ।
राजनीतिक दलहरु, संघसंस्थालगायतसँग सुझाव संकलन, वडास्तरमा योजना प्राथमिकता निर्धारण तथा छनोट गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्नेलगायतका चरण पुरा गरी असार ७ गते आगामी आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट गाउँपालिकाको सभामा पेस गर्ने र असार महिनाभित्रमा छलफल गरी स्वीकृत गर्ने गरी कार्यतालिका बनाएको छ ।

ताजा समाचार

Related Articles