खासकुरा संवाददाता
हेटौँडा, जेठ २६ गते ।
बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्रहरीले गैरकानुनी कार्यलाई छुट नदिने बताउनुभएको छ ।
प्रदेश प्रहरी कार्यालय, हेटौँडामा सोमबार आयोजित सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले शान्ति सुरक्षाका सवालमा कोहीसँग पनि सम्झौता नगर्ने बताउनुभयो ।
समाजमा शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी प्रतिबद्ध रहेको भन्दै उहाँले अपराधको रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धान गरी जनताले सुरक्षाको अनुभूति गर्ने गरी प्रहरीले काम गरिरहेको जिकिर गर्नुभयो ।
समाजमा शान्ति सुव्यवस्था कायम गर्नेदेखि ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण, भिआइपी, भिभिआइपीहरुको सुरक्षाको प्रबन्ध, विपद् व्यवस्थापनलगायतलाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै प्रहरी प्रमुख पौडेलले अपराधको अनुसन्धान गर्नुभन्दा अपराध नै हुन नदिन प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिनुभयो । समाजमा हुने गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरी निर्मम भएर लाग्ने छ प्रदेश प्रहरी प्रमुख पौडेलले भन्नुभयो अपराध नियन्त्रण, न्यूनीकरणको र समाजमा जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको रहेका छौँ ।
प्रदेश प्रहरी प्रमुख पौडेलले दुर्घटना न्यूनीकरणलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने भन्दै जनताको गुनासोलाई सम्बोधन गर्ने गरी प्रहरीले काम गर्ने बताउनुभयो ।
शहरी क्षेत्रमा घटना भएको १० मिनेटमित्र पुग्ने गरी योजना बनाइएको सुनाउँदै उहाँले हेटौंडाको मुख्य बजारमा झोला तान्ने, यात्रुलाई दुःख दिने व्यक्तिलाई तुरुन्त कारवाही गर्न समेत प्रहरी कार्यालय र ट्राफिक कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, ट्राफिक कार्यालयका प्रमुख बच्चुराम फुयाललगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लाका तीन सय ५० प्रहरी इकाइ रहेका छन् ।




