सहकारी मन्त्रालय घेराउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २६ गते ।
काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले सोमबार हेटौँडामा रहेको बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् ।
उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्नेलगायतका माग राख्दै सहारीबाट पीडित बचतकर्ताहरुले मन्त्रालय घेराउ गरेका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरूले मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न सरकारलाई दबाब दिएका थिए । उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको जनाएकका छन् ।
सरकार पीडितको पक्षमा सहजीकरण गर्नुभन्दा समस्याबाट भाग्न खाजेको आरोप लगाउँदै प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग छ । सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने थुनामा रहेपनि अन्य आरोपितहरूलाई कारवाही गर्न सरकारले नसकेको भन्दै पीडितहरूले राज्यको मिलोमतो रहेको उनीहरुको आरोप छ ।
१३ हजारभन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको दुई अर्ब ७५ करोड रुपियाँभन्दा बढी रकम अपचलन भएको जनाइएको छ ।
सहकारी तथा गरिबी मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले पीडितहरूको मागका आधारमा प्रहरी अनुसन्धान अघि बढेको बताउनुभयो ।
मन्त्रालयको सहकारी महाशाखाका अनुसार हालसम्म बागमती प्रदेशमा पाँच वटा सहकारी समस्याग्रस्त घोषणा गरिएको छ ।

 

ताजा समाचार

Related Articles