खासकुरा संवाददाता
हेटौँडा, जेठ २६ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव संकलन गरिनुका साथै गाउँ शिक्षा योजना मस्यौदा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्ता सोमबार कार्यशाला भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व सहसचिव घिमिरेले नेतृत्वदायी भूमिका शिक्षकहरुले निर्वाह गर्नुपर्ने भन्दै स्थानीय पाठ्यपुस्तकले विद्यार्थीमा ज्ञान हस्तान्तरण र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले बालबालिकाले आफ्नो पालिकाभित्रका भाषा, धर्म, संस्कृति, पर्वलगायत धार्मिक तथा पर्यटन क्षेत्रको बारेमा स्थानीय पाठ्यपुस्तकबाट ज्ञान लिनसक्ने बताउनुभयो ।
कार्यक्रममा पाठ्यपुस्तकका लेखक एंव पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गर्नुभएको थियो । कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिकाभित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु,जीवजनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली अन्नबाली, नगदेबाली, पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादनमूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको छ ।

त्यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुहरुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रा पालनको तरिकाका साथै कृषि क्षेत्र र सहकारीको विषयवस्तु राखिएको उहाँले बताउनुभयो ।

गाउँ शिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँ शिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण गरेका थिए । शिक्षा क्षेत्रको मुख्य समस्या तथा चुनौतिहरुको विश्लेषण गर्दै पालिकाको सबै अवस्थाका बालबालिकाहरुको पोषण स्याहार मनोरञ्जन सहितको प्रारम्भिक बाल शिक्षा, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, शिक्षामा समतामूलक पहुँच पुर्याउने उद्देश्य रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय पाठ्यक्रमले सम्रग कैलाशलाई पढ्न सकिने भन्दै कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखी विद्यालय पुगिसकेका छन् अब ४ र ५ को तयार हुने भन्दै कैलाशको शैक्षिकस्तर वृद्धि गर्नुछ, सोही अनुरुप पालिकाले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो ।

गाउँ शिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एंव सामाजिक विकास समितिका संयोजक वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रअ बालचन्द्र मल्ल लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आषिश प्रजा, ९ का वडाध्यक्ष भूवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, कैलाश गाउँपालिकाका सामूदायिक विद्यालयका प्रअहरु, बाल क्लब सञ्जालका प्रतिनिधिहरुको आतिथ्ता रहेको थियो ।



