इन्द्रसरोवरलाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ५ गते । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा कुलेखानीमा बिहीबार अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम भएको हो ।

कार्यक्रममा आगामी दिनमा कुनै पनि विद्यालय उमेर समुहका (४ वर्ष देखि १३ बर्ष) बालबालिकाहरु विद्यालय बाहिर हुने छैनन् र शिक्षा पूर्ण रुपमा निःशुल्क हुने समेत सुनिश्चितता भएको घोषणा कार्यक्रमलाई निरन्तरता दिँदै दिगोपना कायम राख्नका लागि प्रतिबद्धता जनाइएको थियो । सो अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री खड्गीले विद्यालय उमेरका बालबालिका अध्ययनबाट वञ्चित हुन नहुने भन्दै प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामालगायतले गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

संविधानले सबै नागरिकलाई शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको सन्दर्भमा, इन्द्रसरोवर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गराउने र आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क रूपमा सुनिश्चित गर्ने उद्देश्यले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम गरेको हो ।
यसअघि बुधबार इन्द्रसरोवर गाउँपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा गरिएको थियो ।

ताजा समाचार

Related Articles