खासकुरा संवाददाता
हेटौँडा, असार १४ गते । मकवानपुरको प्याङ्चे–चैनपुर सडक खण्ड अधिक भार बहन क्षमताका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पूर्व पश्चिम राजममार्गको अन्तर्गत पर्ने मनहरी बजार र राक्सिराङ गाउँपालिकाको केन्द्र जोड्ने प्याङ्चे–चैनपुर सडक खण्डको आँपखोल्ची पुल पहिरोले जोखिममा पारेसँगै अधिक भारबहन क्षमतका सवारी साधन उक्त सडकमा सञ्चालनमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

आँपखोल्ची पुल पहिरोले क्षति पु¥याई कमजोर भएको र अन्य स्थानहरु साँधुरो र संरचनागत दृष्टिले कमजोर रहेकोले सवारी साधन सञ्चालनमा रोक लगाइएको गाउँपालिका अध्यक्ष मल्लले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै भन्नुभएको छ ।

विगत केही दिनदेखि यसै सडकखण्ड हुँदै बालुवा र ढुङ्गाको अत्याधिक भार बोकेका हेभी ट्रिपरहरुको आवत जावत भईरहेको भन्दै गाउँपालिका अध्यक्ष मल्लद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबाट सडक क्षतिग्रस्त हुने, कम्पनको कारणले पहिरो जान सक्ने र पूर्वाधारको क्षतिसँगै जनधनको समेत क्षति हुन सक्ने जोखिम बढेकोले उक्त सडक खण्डमा हेभी सवारी साधनलाई ओसार पसार गर्न पूर्णतः निषेध गरिएको छ ।’

पालिकाद्वारा जारी सूचनाको उल्लङ्घन गर्ने विरुद्ध प्रचलित कानुन बमोजिम कारबाही गरिने उक्त सूचनामा भनिएको छ । ‘सडक सुरक्षको हित, जनधनको सुरक्षा, पूर्वधार र प्राकृतिक स्रोतको संरक्षण र यस सम्बन्धमा अवाञ्छित गतिविधि नियन्त्रणमा सम्बन्धित सरकारी निकायहरु र सम्पूर्ण सरोकारवालाहरुको सहयोगको अपेक्षा गर्दछौँ’, अध्यक्ष मल्लद्वारा जारी सूचनामा उल्लेख छ ।




