चित्रेपानी सामुदायिक वनमा आयआर्जका लागि वृक्षरोपण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १४ गते । राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. ६ र १५ मा अवस्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवस वृक्षरोपण कार्यक्रम गरी शनिबार टटेलो, कुरिलोलगायतका जडिबुटी रोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आफू निर्वाचित भएर आएपछि हेटौँडा उपमहानगर क्षेत्रमा ५० हजार विभिन्न प्रजातिका रुख विरुवा योजना बनाएकोमा हालसम्म ३० हजार विरुवा रोपेको भन्दै हरित नगरको पहिचानलाई कायम राख्न उपमहानगरले काम गर्दै आएको बताउनुभयो ।

डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले वृक्षरोपणसँगै संरक्षण गर्नुपर्नेमा जोड दिँदै जडिबुटी रोपणले स्थानीयको आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।

डाबर नेपाल प्रा.लि. का प्रतिनिधि विष्णु केसीले औषधीय गुण रहेको जडिबुटीको डाबर नेपालले बजार सुनिश्चितता गरेको भन्दै यसबाट सामुदायिक वनका सदस्यको आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भानु बिडारीले सामुदायिक वनलाई चरणक्षेत्रको रुपमा प्रयोग गर्दा वृक्षरोपण गरिएका विरुवाको संरक्षणमा समस्या आएको बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधि, डिभिजन वन कार्यालय मकवानपुरका कर्मचारीहरु, सामुदायिक वन समुहका सदस्यलगायतको सभागिता रहेको थियो ।

यसैगरी हेटौँडा उपमहानगरपालिका १ स्थित बुद्धपार्क नजिकै सामुदायिक वनमा वृक्षरोपण दिवसको अवसरमा विभिन्न प्रजातिका विरुवा नगरप्रमुख लामा, सामुदायिक वनका पदाधिकारीलगायतले रोप्नुभएको थियो ।

ताजा समाचार

Related Articles