काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी समुहको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले आफुलाई मर्माहत बनाएको बताउनु भएको छ । सोमवार राति एक वक्तव्य जारी गर्नुहँदै प्रधानमन्त्री ओलीले आफुले जेन–जी पुस्ताको मागलाई सुनिरहेको बताउनुहुँदै प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको बताउनु भएको हो ।

”सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । वक्तव्यमा प्रधानमन्त्री ओलीले भन्नु भएको छ ।




