काठमाडौँ, असोज ७ गते। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले वर्तमान सरकारले सुशासनको जग बसाउने र निर्धारित समयमा निष्पक्ष एवम भयरहित निर्वाचन गराउने कामलाई मुख्य प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा नेपाल टेलिभिजनमा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले वर्तमान सरकारले आम जनताले महसुस गर्ने गरी सुशासनको जग बसाल्ने बताउनुभयो ।

सुशासनको जग बसाल्नेसहित समयमै स्वतन्त्र र धाँधलीरहीत निर्वाचन गराउने तथा जेन्जी आन्दोलनमा भएको क्षतिको छानविन गरी दोषीलाई कार्वाही गर्ने वर्तमान सरकारको जिम्मेवारीमा सरकार केन्द्रित रहने मन्त्री खरेलले बताउनुभयो । देश बनाउने कुरा रातारात सम्भव नहुने र सरकारले मात्रै पनि देश बनाउन नसक्ने बताउँदै मन्त्री खरेलले त्यसका लागि सरोकारवाला सबैको साथ र समर्थन चाहिने बताउनुभयो ।

देश निर्माणका लागि अहिले सही समय आएको उहाँको भनाइ छ । संचारमन्त्री खरेलले हेम सुनिल पत्रकारिता पुरस्कार प्राप्त गर्ने स्वर्गीय पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाही गराई रजकलाई न्याय दिलाउने कार्यमा आफूले गृहमन्त्री र प्रधानमन्त्री समक्ष कुरा गर्ने बताउनुभयो । संचारमन्त्री खरेलले नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएर एउटै संस्था बन्नुमात्रै सार्वजनिक सेवा प्रसारण हुनु भनेर बुझ्न नमिल्ने बताउनुभयो । उहाँले सार्वजनि सेवा प्रसारण पिएसबीले कुनै पनि हस्तक्षेप बिना व्यवशायिक ढंगबाट समाचार निर्माण तथा प्रसारण गर्ने अवस्था बनाउन आवश्यक रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले स्पष्ट अवधारणा सहित सार्वजनिक सेवा प्रसारण सञ्चालनमा सहयोग गर्न मन्त्रालय प्रतिवद्द्ध रहेको वताउनुभयो । सार्वजनिक सेवाप्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रूपान्तरणको क्रममा रहेको सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी सञ्चालनका लागि दिगो आर्थिक आधार आवश्यक रहेको वताउनुभयो ।

सार्वजनिक सेवाप्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पत्रकार र सञ्चार माध्यामको सुरक्षा चुनौतिमा सवै संवेदनशील हुनुपर्ने बताउनुभयो । त्रिभूवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा कुन्दन आर्यालले सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै गलत र भ्रामक सूचना सम्प्रषणको विगविगी बढी रहेकाले त्यसलाइ चिर्न सार्वजनिक सेवा प्रसारण महत्वपूर्ण रहेको वताउनुभयो । डा अर्यालले पत्रकारितामा बढेको ध्रुविकरण चिर्नका लागि सार्वजनिक सेवा प्रसारणको आधारभूत शिद्धान्तलाई आत्मसात गरी नयाँ उचाइमा लैजाने अवसर रहेको वताउनुभयो ।

पुरस्कार छनौट समितिका सदस्यहरु नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा र बरिष्ठ पत्रकार वविता वस्नेतले पछिल्ला दिनमा पत्रकारको सुरक्षा कसरी गर्ने भन्ने तर्फ ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको एक लाख रुपैंया राशिको हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यस वर्ष मरणोप्रान्त पत्रकार सुरेश रजकलाई प्रदान गरियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वर्गीय रजकका श्रीमति सुजन मगियालाई पुरस्कार प्रदान गर्नुभयो । त्यसवखत पुरस्कृत स्व पत्रकार सुरेश रजकका दाइ दिनेश रजकले घटनाको छानविन गरी दोषी पत्ता लगाउन र कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

कार्यक्रम आयोजक नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार पूर्ण सञ्चालन र बजेट सुनिश्चितताको माग गर्नुभयो । शाखाका सचिव विष्णुहरी कोइरालाले हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुसरकारबारे जानकारी दिनुभयो । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा नेपाल टेलिभिजनका संवाददाता हेमराज भण्डारी र क्यामराम्यान सुनिल कुमार सिंह सहित तत्कालिन वन राज्यमन्त्री गोपाल राई, संरक्षणकर्मी हर्क गुरुङ लगायत २४ जना संरक्षणविदको निधन भएको थियो ।

दिंवगत हेम र सुनिलको संम्झनामा २०६४ सालदेखि एनटिभी प्रतिष्ठान शाखाले जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्थापना गरी टेलिभिजनकर्मीहरुलाई असोज ७ गतेको दिनमा पुरस्कृत गर्दै आएको छ । कार्यक्रममा अपरेशन महासाखा प्रमुख रोशना देवी तुलाधर, कार्यकारी दृष्य सम्पादक मिश्रीलाल यादव र समाचार सम्पादक प्रदीप कुमार चापागाईलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरियो ।
यसअघि मन्त्री खरेलले सार्जनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनको विभिन्न कक्षको अवलोकनका साथै दुवै संस्थामा भदौ २४ गते भएको तोडफोडबाट भएको क्षतिबारे जानकारी लिनुभयो । मन्त्री खरेलले रेडियो नेपालको विभिन्न कक्षको अवलोकनका क्रममा देशकै पहिलो प्रसरण संस्था रेडियो नेपालका पुराना गीत संगितको संरक्षण गर्दै त्यसको डिजिटाइजेशनबाट लाभ लिन सुझाव दिनुभयो ।
यसैगरी नेपाल टेलिभिजनको कार्यक्रम र एनटिभी वर्ल्ड स्टुडियोका साथै समाचार कक्ष र समाचार स्टूडियोको अवलोकन गर्नुभएका मन्त्री खरेलले प्रसारण प्रारम्भको तयारीमा रहेको एनटिभी वर्ल्ड नेपालका लागि आवश्यक भएको उल्लेख गर्दै यसलाई प्रविधि र विषयवस्तु दुवैमा अन्तर्राष्ट्रिय गुणस्तरको बनाउनु पर्ने बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले एनटिभी वर्ल्डको स्टेशन आइडि र समाचार लोगो समेत हेर्दै तीनलाई अझ दर्शनीय बनाउन सकिने पक्षमा आफ्नो सुझाव पनि दिनुभयो । सार्वजनिक सेवा प्रसारण नेपालले एनटिभी वर्ल्ड प्रसारणको आवश्यक तयारी पूरा गरिसकेको छ ।



