खासकुरा संवाददाता
हेटौँडा, असोज ९ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १ जलबिरेमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका २ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका २ गोल्छे स्थित मामाघरमा पैदल जाँदै गरेको ज्याङजेङ लामाको छोरी १७ वर्षीय फूलमाया लामा र निजकी बहिनी पाँच वर्षी मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
बलेफी ढाडे भित्री सडक खण्डमा सडकमाथि भिरबाट लेदोसहितको पहिरो आई पहिरोमा परी उनीहरु बेपत्ता भएका हुन् । सडकभन्दा तल ब्रह्मायणी नदी बगिरहेको प्रहरीको भनाई छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षकको नेतृत्वको टोलीबाट बेपत्ता भएकाहरुको खोजी कार्य भई रहेको छ ।




