टोकियो, कात्तिक २७ गते । टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानुन संशोधन गरी प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमती दिएको बताइएको छ । अप्रिल देखि देशभर जनावरको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको जनाइएको छ । लगभग दिनहुँ जसो भालु घरभित्र प्रवेश गर्ने, विद्यालय नजिकै घुम्ने र सुपरमार्केटमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ । सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भालुको सङ्ख्या लगायतका कारणले आक्रमण बढी रहेको बताएका छन् ।

अधिकांश आक्रमण भएका अकिता र इवाटेका उत्तरी क्षेत्रमा बिहीबार एक समारोह आयोजना गरी प्रहरीलाई जनधनको सुरक्षाका लागि भालुलाई गोली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो । गत हप्ताको घोषणापछि हातहतियार सम्बन्धि नियममा परिवर्तन गरी बिहीबार देखि लागु भएको स्थानीय अधिकारीलाई उदृत गरी एएफपीले जनाएको छ । टोकियो स्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसलाई भालु देखिएका क्षेत्रमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन पूर्णरूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ । बेलायती सरकारले पनि यात्रुलाई भालु देखिएका क्षेत्रमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन आग्रह गरेको छ ।

पछिल्लो समयमा जापानमा नियमितरूपमा भालुको आक्रमण भएका छन् । इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परेपछि रनवे करिब एक घण्टाका लागि बन्द हुँदा दुई वटा घरेलु उडान ढिलाइ भएको स्थानीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ । जापानले पनि गत हप्तादेखि अकिता क्षेत्रमा सैनिक तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकलाई भालुको सिकार गर्ने अनुमती भने दिएको छैन । रासस/एएफपी




