भारतद्वारा नेपाललाई १० वटा बेलिब्रिज सहयोग

लोकप्रिय

हेटौँडा, मंसिर ४ गते । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो ।

भारतले उपलब्ध गराउने १० वटामध्ये एक वटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तवले बिहीबार हेटौँडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई बेली ब्रिज हस्तान्तरण गर्नुभएको छ ।

भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिङ्गल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ ।

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को सङ्कटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनर्स्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिबुद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सङ्कटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदार अझै दह्रो देखिएको बताउनुभयो । उहाँले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो ।

नेपालका लागि भारतीय राजदूत श्री वास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो । यस वर्ष उपलब्ध गराइएको बेली ब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उहाँले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्‍याएका सडक सञ्चालनका लागि भारतकारतर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिनुभयो ।

ताजा समाचार

Related Articles