काठमाडौं, पुस २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । “उहिले देश विकासमा निकै पछाडि थियो, बाटाघाटा थिएनन्, आजको जस्तो सवारीसाधन थिएन, तर आज बाटाघाटा छन्, सवारीसाधन छन्, अस्पतालहरु छन् र जीवन सहज बनेको छ” उहाँले भन्नुभयो ।

हाम्रो देशमा विकास भएन भन्ने होइन, विकास भएको छ तर पर्याप्त भएको छैन भन्नुहुँदै अध्यक्ष ओलीले नयाँ चुनौती र समस्याको सामना गर्दै मुलुकको विकास गर्नुपर्ने छ र त्यो सम्भव रहेको उहाँको भनाइ छ । मुलुकको अर्थतन्त्र सबल बनाउन हाम्रा आफ्नै खानीको उत्खनन् र प्रवर्धनको खाँचो रहेको उहाँले बताउनुभयो । त्यसको सुरुवात भइसकेको बताउँदै उहाँले आउने दिनमा त्यसको सदुपयोग गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।




