काठमाडौं, पुस २३ गते । जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिनु भएको छ । उहाँले ११५ दिनको कार्यकालपछि बुधबार साँझ पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको जानकारी दिँदै आफू पदमा नरहे पनि देश र जनताको पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजीनामापछि सार्वजनिक सम्बोधनमार्फत उहाँले यो निर्णय भाग्ने वा जिम्मेवारीबाट विमुख हुने नभई आत्मसम्मान, नैतिकता र सिद्धान्तप्रतिको प्रतिबद्धताबाट प्रेरित रहेको स्पष्ट गर्नुभयो।

मन्त्री घिसिङले सम्माननीय प्रधानमन्त्रीको अनुरोध र जेन–जी आन्दोलनको चाहनाअनुसार जिम्मेवारी स्वीकार गरेको उल्लेख गर्दै विश्वासका लागि प्रधानमन्त्री, आन्दोलनमा संलग्न युवा पुस्ता तथा सम्पूर्ण नेपाली जनताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पदभन्दा सिद्धान्त ठूलो र सरकारभन्दा जनता माथि हुने धारणा राख्नुभयो।

राजनीतिक रूपमा आफू कुनै पनि दलको औपचारिक सदस्य नरहेको स्पष्ट पार्दै उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा नाम उल्लेख भए पनि सो सहमति कार्यान्वयनमा नआएको जानकारी दिनुभयो। राजीनामापछि पदमा ‘आफ्नो मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने प्रचारलाई उहाँले भ्रामक भन्दै खण्डन गर्नुभयो। उहाँले व्यक्ति परिवर्तन भए पनि सही नीति, सोच र जनताको चाहना कहिल्यै नरोकिने विश्वास व्यक्त गर्दै उज्यालो नेपाल निर्माणका लागि सशक्त राजनीतिक यात्रामा होमिने घोषणा गर्नुभयो।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रहेर राजनीतिक दल खोलेको, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति भइसकेपछि पनि पार्टीको सदस्य नरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएसँगै घिसिङको विरोध भएको थियो । उहाँले पुस २४ बाटै राजनीतिमा सक्रिय हुने बताउनु भएको छ ।




