मनहरीमा दुग्ध उत्पादक किसानलाई जेनेरेटर सहयोग

लोकप्रिय

हेटौँडा, जेठ २ गते । मकवानपुरको मनहरी गाउँपालिकाले मनहरी गापा ३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई जेनेरेटर सहयोग प्रदान गरेको छ ।
पशुपालक किसानलाई प्रोत्साहित गर्न दुग्ध उत्पादक किसानबाट सङ्कलित रकमबाट सात लाख ५० हजार रुपियाँको लागतमा ३० केभिए क्षमताको जेनेरेटर प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले शनिबार आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्दै विद्युत् प्रवाह अवरुद्ध हुँदा दूध चिस्यान केन्द्रमा सङ्कलन र राख्न समस्या भएपछि जेनेरेटर सहयोग गरिएको बताउनुभयो । किसानबाट दूध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको उहाँको भनाई छ ।

मनहरी गाउँपालिकाले दुग्ध उत्पादक किसानको भुक्तानी सुनिश्चितता गर्न सहकारीमार्फत दूध खरिद–बिक्रीको व्यवस्थापन गर्न सुरु गरेसँगै किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम सङ्कलन गरिँदै आएको छ । यसअघि जिल्ला दुग्ध सहकारी सङ्घमार्फत दूध कारोबार हुँदा प्रतिलिटर तीन रुपियाँसम्म कमिशन लिने गरिकोमा अहिले खर्च घटेर ५० पैसा भएको गाउँपालिकाले जनाएको छ ।
कृषि उपज खातामा दूध बिक्रीको आधारमा गाउँपालिकाले रकम सङ्कलन गर्दै आएको छ । उक्त खातामा हालसम्म करिब २५ लाख रुपियाँ सङ्कलन भइसकेको र सङ्कलन भएको पैसा दुग्ध किसान र सहकारीको पूर्वाधार विकासमा गाउँपालिकाले खर्च गर्दै आएको छ ।

मनहरीमा सहकारीमार्फत दूध सङ्कलन र नियमित भुक्तानी प्रणाली सुरु भएपछि किसान पशुपालनतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उद्योगसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानीको व्यवस्था गरेको छ । पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु समेत पशुपालनमा जोडिन थालेका छन् । मनहरीबाट प्रतिदिन करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।
जेनेरेटर हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्याललगायत दुग्ध किसानको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

Related Articles