खासकुरा संवाददाता
हेटौँडा, जेठ १२ गते । चितवनको भरतपुर महानगरपालिका ९ शरदपुर दुर्गाटोलमा एउटा कार र चार वटा स्कुटरमा आगजनी गर्ने मकवानपुरको चित्लाङका सन्तोष विश्वकर्मालाई प्रहरी पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका ९ शरदपुर दुर्गाटोलस्थित तिल प्रसाद अधिकारीको घर अगाडि पार्किङ गरेर राखेको कार र स्कुटरमा आगजनी गरेको अभियोगमा ३२ वर्षीय विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अधिकारीको घर अगाडि आइतबार बिहान पार्किङमा राखेको बा १२ च ७२७८ नम्वरको कार, ना ३७ प ३९०६ नम्वरको स्कुटर, बा.प्र.०६–००७ प ४५९७ नम्वरको स्कुटर, बागमती प्रदेश ०६–००३ ०३३८ नम्वरको इभी स्कुटर र ना २८ प ८४५४ नम्वरको होण्डा स्कुटर तथा परालमा समेत आगजनी गरिएको थियो ।

आगजनी गरेर फरार मकवानपुरको चित्लाङ घर भई हाल भरतपुर २ बस्ने विश्वकर्मालाई भरतपुर महानगरपालिका १० स्थित हाकिमचोकबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिनुभयो । विश्वकर्मालाई अपराधिक अपद्रव कसूरमा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।




