हेटौँडा, जेठ १२ गते । तराई–मधेश द्रुतमार्गअन्तर्गत सुरुङमा काम गर्ने क्रममा उपकरण खसेर लाग्दा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित सुरुङमा काम गर्ने क्रममा फलामबाट बनेको रिपिट नामक उपकरण खसेर लाग्दा बर्दिया जिल्लाका करिब ३० वर्षीय रामगोपाल चौधरीको गएराति मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

त्यसैगरी सोही घटनामा मकवानपुरको थाहा नगरपालिका–५ सानोपाखाका २२ वर्षीय सन्तोष बम्जन दाहिने हातमा सामान्य चोट लागी घाइते भएका छन् ।

दुवै जनालाई दोभासे सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ का ३० वर्षीय बेनु परियारले उपचारका लागि मकवानपुरको चुरेहिल अस्पतालमा राति ११ः३५ बजे पुर्याएका थिए । अस्पताल पुर्याएलगत्तै ११ः४० बजे रामगोपाल चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते बम्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धानका लागि दोभासे परियारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।




