हेटौँडा, जेठ १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौँडा उपमहानगर समितिको सभापतिमा महेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । रास्वपाको पहिलो नगर अधिवेशन अन्तर्गत आइतबार मतदानपछि सोमबार सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएको हो ।
रास्वपाको विधानअनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था रहेकोमा पहिलो चरणको मतदानमा तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि पुनः मतदान गरिएको थियो । पुनः भएको मतदानमा श्रेष्ठले १७३ मत र उहाँका प्रतिस्पर्धी ध्रुव विष्टले ११९ मत प्राप्त गर्नुभयो ।

१९ सदस्यीय कार्यसमितिको नगर उपसभापतिमा सागर लामिछाने, सचिवमा प्रेम लामिछाने र सह–सचिवमा नरहरि चौलागाईं निर्वाचित हुनुभएको छ ।
यस्तै मनहरी गाउँपालिका समितिको सभापतिमा गोविन्द सापकोटा निर्वाचित हुनुभएको छ । उपसभापतिमा पप्पु थापा, सचिवमा कृष्ण ढकाल र सह–सचिवमा नारायण मैनाली निर्वाचित हुनुभएको छ ।
मकवानपुरका अन्य पालिकामा पनि रास्वपा अधिवेशन तय भएको छ ।




