मकवानपुर, असार २० गते । हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् । हेटौँडा–धरान–चतरा सडकको हेटौँडा उपमहानगरपालिका ६ स्थित हात्तीलेट सडक खण्डमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नावय उपरीक्षक माधवप्रसाद काफ्लेले मोटरसाइकल चालक हेटौँडा ६ का वर्ष अन्जादी १७/१८ का प्रतीक मानन्धरको दुर्घटनामा परी मृत्यु भएको जानकारी दिनुभयो ।

गौरीटारबाट चौघडा चोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प. ७०२८ नं. को मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोकिएर अनियन्त्रित भई दुर्घटना हुँदा भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मानन्धरको टाउको र छातिमा चोट लागि गम्भीर अवस्थामा हेटौँडा अस्पताल मकवानपुरमा उपचारको क्रममा दिउँसो ३ः०० बजेको समयमा मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । मोटरसाइकल पछाडि सवार हेटौँडाका ६ का १७ वर्षीय अंकुर लामाको दुवै हात र बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

यस्तै शनिबार बिहान ११ः१५ बजेको समयमा हेटौँडा १५ रातोमाटे चेकपोईन्ट नजिकै महेन्द्र राजमार्गमा जनकपुरबाट पोखरातर्फ जान आउँदै गरेको ना ६ ख. ७४५७ नं. को बस दुर्घटनामा परी नौ जना घाइते भएका छन् । बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार भएका ३०-३५ जनामध्ये नौ जना घाईते भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुलाई उद्वार गरी हेटौँडा अस्पतालमा उपचार भईरहेको र घाईते सबैको अबस्था सामान्य रहेको छ । बस चालक महोत्तरी जिल्ला घर भई हाल जनकपुर उपमहानगरपालिका ८ बस्ने वर्ष ५० का धनिराम वि.क.लाई प्रहरीले नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।




