मकवानपुर, असार २९ गते। हेटौँडा उपमहानगरपालिका–१७, हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिकै कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ। ट्रक चालकले भने पौडिएर ज्यान जोगाएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान ७ः४५ बजे कर्रा खोला तर्ने क्रममा ह्युम पाइप राखेर बनाइएको कल्भर्ट (लच्का) मा पानीको बहाव बढेपछि सिमेन्ट उद्योगमा चुनढुङ्गा खसालेर फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएको हो।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर सकुशल बाहिर निस्कनुभएको छ। उहाँको खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

घाइते चालक थिङको हेटौँडा–६, चौघडास्थित राजु मेडिकलमा उपचार भइरहेको छ। घटनामा अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढीले बगाएको ट्रक खोलामै रहेकाले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।




