एमपी शर्मा
हेटौँडा, साउन ३ गते । गाउँमा बसेर पनि मेहनत, योजना र धैर्यका साथ सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुर मकवानपुरगढी गाउँपालिका–३ मरङ्गे कालीदेवी टोलका युवा मधुसूधन दाहाल । धेरै युवा विदेशिन बाध्य भइरहेका बेला उनले भने गाईपालन व्यवसायलाई रोजे र २०७६ सालमा ९ वटा गाईबाट सुरु गरेको यात्रा आज ४९ वटा गाई भएको व्यवस्थित कृषि फार्ममा रूपान्तरण गरेका छन्।

लक्ष्मीनारायण बहुउद्देश्यीय कृषि फार्म मार्फत उनले केवल दूध उत्पादन मात्र गरेका छैनन्, उन्नत जातका गाई र बाछी उत्पादनमा समेत आफूलाई स्थापित गरिरहेका छन्। अहिले फार्ममा २४ वटा माउगाई र २५ वटा बाछी गरी जम्मा ४९ वटा गाई छन्। १६ वटा गाईले नियमित दूध दिइरहेका छन् भने आठ वटा ब्याउने तयारीमा छन्।
मधुसुदनको सोच सुरुदेखि नै फरक थियो। उनले संख्या बढाउनेभन्दा गुणस्तरीय नस्ल विकासलाई प्राथमिकता दिए। अमेरिकन सिमेन्टललगायत उन्नत सिमेन प्रयोग गरी कृत्रिम गर्भाधान (एआई) मार्फत उच्च उत्पादन दिने बाछी उत्पादनमा जोड दिए। यही कारण अहिले फार्ममा रहेका ४९ गाईमध्ये ४२ वटा आफ्नै फार्ममा जन्मिएका छन्।
“हामीले बाहिरबाट गाई किनेर संख्या बढाएका होइनौं,” मधुसुदन भन्छन्, “आफ्नै गोठमा जन्मिएका बाछी हुर्काएर फार्म विस्तार गरेका हौं।”
पछिल्ला दुई वर्षदेखि उनले उन्नत जातका बाछी बिक्रीसमेत गरिरहेका छन्। आवश्यक परे अन्य किसानलाई पनि बाछी उपलब्ध गराउन तयार रहेको उनी बताउँछन्।
फार्ममा भारतबाट ल्याइएको शुद्ध होलस्टेन जातको एउटा साँढे पनि छ। उक्त साँढेको बुवा अमेरिकन एबिएसको उच्च आनुवंशिक क्षमता भएको साँढे हो भने आमाबाट दैनिक ४२ लिटरसम्म दूध उत्पादन भएको रेकर्ड छ। यस्ता आनुवंशिक गुणलाई आधार बनाएर उनले भविष्यका उच्च उत्पादनशील गाई तयार गर्ने लक्ष्य राखेका छन्।
उनको फार्मका केही गाईले दैनिक ३२ लिटरसम्म दूध दिएका छन्।यो फर्मबाट दैनिक २४० लिटर दुध उत्पादन हुँदै आएको छ। यही कारण मकवानपुर जिल्लामै सहकारीमार्फत धेरै दूध बिक्री गर्ने फार्ममध्ये यो पनि एक मानिन्छ। तथ्यांकअनुसार गत वर्षको साउन देखि यो जेठ महिनासम्म फार्मबाट ५७ हजार लिटर दूध बिक्री भइसकेको छ।
२०७६ सालमा करिब साढे ११ लाख रुपैयाँ खर्च गरेर नौ वटा गाई खरिद गरी व्यवसाय सुरु गरेका मधुसुदनले गोठ निर्माण तथा पूर्वाधार विकासमा करिब साढे १७ लाख रुपैयाँ लगानी गरेका थिए। त्यसयता फार्मबाट आएको आम्दानीलाई पुनः लगानी गर्दै व्यवसाय विस्तार गरिरहेका छन्।
अहिले उनको लक्ष्य फार्मलाई अझ आधुनिक र व्यवस्थित बनाउनु हो। गाईलाई नुहाएर भित्र प्रवेश गराउने, व्यवस्थित रूपमा दूध दोएर अर्को तर्फबाट बाहिर निस्कने प्रणालीसहितको आधुनिक पार्लर निर्माण गर्ने तयारी भइरहेको छ। दाना, चोकर र पशु आहारका लागि छुट्टै स्टोर, माथिल्लो भागमा भुसा तथा पराल भण्डारण गर्ने गरि संरचना निर्माणको काम पनि अघि बढिरहेको छ।
“हामी फार्मलाई सामान्य गोठ होइन, व्यवस्थित र नमुना डेरी फार्मको रूपमा विकास गर्न चाहन्छौं,” उनी भन्छन्।
फार्म सञ्चालनमा परिवार नै मुख्य शक्ति बनेको छ। भाइ मदन दाहाल प्राविधिक पक्ष सम्हाल्छन् भने बुवा ठाकुरप्रसाद दाहाल व्यवस्थापन र बाहिरी समन्वयमा सक्रिय छन्। आमा र श्रीमतीले दैनिक स्याहार–सुसार तथा दुहुने काम सम्हाल्छन्। फार्मले थप दुई जनालाई रोजगारीसमेत दिएको छ।
पशु आहारमा आत्मनिर्भर बन्न चार बिघा जमिनमा नेपियर, सुपर नेपियर, रेड नेपियरलगायत बहुवर्षीय घाँस उत्पादन भइरहेको छ। स्टाइलो, बर्सिम र जैजस्ता मौसमी घाँसका साथै लिजमा लिएको जमिनमा मकै खेतीसमेत गरिन्छ।
व्यवसाय विस्तारका क्रममा मधुसुदनले एउटा तितो अनुभव पनि सँगालेका छन्। प्रदेश सरकारअन्तर्गतको निकायसँग अनुदान सम्झौता भएपछि पूर्वाधार निर्माणमा ठूलो लगानी गरे पनि अपेक्षित अनुदान रकम प्राप्त गर्न नसकेको उनी बताउँछन्। त्यसक्रममा करिब ४१ लाख रुपैयाँको लगानी संरचना निर्माणमा अड्किएको उनको भनाइ छ।
उनका अनुसार किसानलाई अनुदान दिने नीतिमा स्पष्टता र निरन्तरता नहुँदा धेरै व्यवसायी अन्योलमा पर्ने गरेका छन्। त्यसैले उनी अनुदानको आशाभन्दा आफ्नै उत्पादन र आम्दानीको आधारमा व्यवसाय विस्तार गर्नु सुरक्षित हुने अनुभव सुनाउँछन्।
‘विदेश होइन, गाउँमै भविष्य खोजौं’
वार्षिक रूपमा खर्च कटाएर करिब ३५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका मधुसुदन गाईपालन व्यवसायप्रति पूर्ण सन्तुष्ट छन्। उनका अनुसार यो व्यवसायको सबैभन्दा ठूलो विशेषता निरन्तर आम्दानी हो।
“पैसा कमाउन विदेश जानैपर्छ भन्ने छैन,” उनी भन्छन्, “बाबुआमाको साथमा बसेर, आफ्नै गाउँमा रहेर पनि राम्रो भविष्य बनाउन सकिन्छ।”
उनले युवाहरूलाई सानोबाट सुरु गर्न, धैर्य राख्न र आफैं खट्न सुझाव दिन्छन्।
“गाईपालनमा सफल हुन ठूलो पूँजी होइन, निरन्तरता चाहिन्छ,” उनी भन्छन्, “गाई पाल्ने हो भने संख्या बढाउनेभन्दा गुणस्तर बढाऔँ। राम्रो सिमेन प्रयोग गरौँ, आफ्नै गोठमा बाछी उत्पादन गरौँ। नेपालमै उच्च उत्पादन दिने गाई उत्पादन गर्न सकिन्छ।”
मकवानपुरगढीका मेहनती युवा मधुसुदनको व्यावसायिक यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। विदेशिने भीडबीच उनले आफ्नै माटोमा पसिना बगाएर देखाएका छन्—सफलताको बाटो टाढा होइन, आफू उभिएको ठाउँबाट पनि सुरु गर्न सकिन्छ। रेडियो मकवानपुरगढीबाट साभार ।



