तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने

लोकप्रिय

खजुरा, असोज १८ गते । 

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नेपालगन्जमा प्रदर्शनका क्रममा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने बताउनुभएको छ । 

बिहीबार नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकमा सहभागीका तर्फबाट तोडफोडका क्रममा भएको क्षतिपूर्ति प्रदेश सरकारबाट व्यवस्थापन गरिनुपर्ने माग उठेपछि गृहमन्त्री पाण्डेले सहभागीहरूको माग सम्बोधन गर्दै क्षतिपूर्तिका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्रीसँग सल्लाह गरेर प्रदेश सरकारको कोषबाट क्षतिपूर्तिको व्यवस्थापन गरिने बताउँदै गृहमन्त्री पाण्डेले जनताले तिरेको करको पैसा विकास निर्माणमा खर्च हुनुपर्नेमा क्षतिपूर्तिका रूपमा खर्च हुनु राम्रो नभएको बताउनुभयो । उहाँले अबका दिनमा सामाजिक सद्भाव बिथोल्नेखालका कुनै घटना हुन नहुने बताउनुभयो ।

प्रदर्शनका क्रममा क्षति भएका भौतिक वस्तुहरूको लगत सङ्कलन कार्य सुरु गरिएको बाँकेका प्रजिअ विपिन आचार्यले बताउनुभयो । उहाँले के कति क्षति भएको छ सोको विवरण सम्बन्धित वडा कार्यालयबाट सिफारिससहित पेस गर्न सम्बन्धित पीडित पक्षलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

वडा कार्यालयबाट सिफारिस आएपछि मात्र के कति भौतिक क्षति भएको त्यसको पूर्ण विवरणसहितको अन्तिम लगत जानकारी हुने प्रजिअ आचार्यले बताउनुभयो । सम्पूर्ण लगत आइसकेपछि क्षतिपूर्तिका लागि प्रदेश सरकारसमक्ष सिफारिस गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी नेपालगन्जमा भएको प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च नेपालगन्ज उपमहानगरपालिकाले व्यहोर्ने भएको छ । नेपालगन्ज उपमहानगर  प्रमुख प्रशान्त विष्टले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत रेकर्ड राखेर घाइतेको उपचार खर्च उपमहानगरपालिकाले व्यहोर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles