हेटौँडा, जेठ ११ गते । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी प्रदेशस्तरमा गणतन्त्र दिवस मनाउने भएको छ ।
गणतन्त्र दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । सोमबार हेटौँडामा बसेको समितिको बैठकले विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाउने छलफलसहित निर्णय गरेको हो ।
गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेश सभाका सभामुख, प्रदेशका मन्त्री, प्रदेश सभाका उपसभामुख, विपक्षी दलका नेता, प्रदेश सभाका सभापति, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका सचिवलगायत रहेको प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले गणतन्त्र दिवस गरिबको व्यवस्था भएको बताउनुभयो ।“सबैलाई समावेशी समानुपातिक रुपमा प्रतिनिधित्व गराउने व्यवस्था गणतन्त्र हो उहाँले भन्नुभयो, यो जनताले जनताको लागि लडेर ल्याएको व्यवस्था हो, जनताकै छोराछोरीले आफ्नै प्रतिनिधित्वमा शासन व्यवस्था चलाउनसक्ने व्यवस्था हो, यो व्यवस्थामा जनताका छोराछोरी राष्ट्रपति उपराष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुख उपसभामुखसम्म हुनसक्छन् ।”
उहाँले गणतन्त्रमा मात्र सबैको प्रतिनिधित्व हुन सम्भव छ, हिजो लोकतन्त्र र गणतन्त्रका लागि बलिदान दिएकाको सपना साकार पार्न र शासन व्यवस्थामा भएको कमीकमजोरीलाई सुधार गर्दै गणतन्त्रलाई जनताको व्यवस्था हो भनेर महसुस गराउनु हाम्रो दायित्व भएको बताउनुभयो ।

समितिको सदस्य सचिवमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रालयका सचिव रहनुभएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले खेलकुद, स्वास्थ्य शिविरलगायतका कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले मूल आयोजक समितिको बैठकले प्रदेशका खेलकुद, सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको संयोजनमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो ।
गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका १८ वर्षः कार्यान्वयन र चनौती विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, रक्तदान कार्यक्रम, वृक्षरोपण, सरसफाइ, पाँच हजार मिटर खुला दौड प्रतियोगिता तथा जेठ १४, १५ र १६ गते दीपावली गर्ने कार्यक्रम रहेको छ ।
जेठ १५ गते बिहान मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडि मञ्चको कार्यक्रममा प्रवचन, सम्मानलगायतका कार्यक्रम आयोजना गरिने छ ।




