हेटौँडा, फागुन १७ । मकवानपुरको कैलाशगाउँपालिकाको आफ्नै लगानीमा वडा नम्बर २ को बैकुण्ठमा निर्माणाधीन कैलाश—बैकुण्ठ जीपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ । ईन्जिनियर अनिल जोशीलगायतको टोलीले जीपलाइनको पहिलो चरणको परीक्षण गरेको हो ।
कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पर्यटन प्रवद्र्धनका जीपलाइनको निर्माण कार्य सुरु गरिएको बताउनुभयो ।
कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइन निर्माण गरिएको भन्दै अध्यक्ष मुक्तानले जीपलाइन सञ्चालनमा आएपछि त्यसक्षेत्र धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाको पनि पर्यटकीय गन्तव्य स्थल बन्ने बताउनुभयो ।
धादिङ सँग सिमाना जोडिएकाले जीपलाइन स्थल बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटरको दुरीमा रहेको छ ।
बैकुण्ठमा जीपलाइन निर्माणसँगै विभिन्न पर्यटकीय पार्कहरु निर्माण गरिएको छ । उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९/८० मा एक करोड ९० लाख ९७ हजार रुपियाँ बजेट लाग्ने सर्वेक्षणसहित गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताउनुभयो । पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम र तार जडान गरिएको उहाँले बताउनुभयो । सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७ सात ६१ रुपियाँको लागतमा यही फागुन मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको थियो ।
पहिलो चरणमा ब्रेकिङ सिस्टम(स्लोप) सम्बन्धी कार्यको परीक्षण भएको र दोस्रो चरणको परीक्षण पछि सफलभएमा पूर्ण रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । परीक्षणमा जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरे संलग्न रहनुभएको थियो ।