द्रुतमार्ग सडक आयोजनाको प्रगति २५.५४ प्रतिशत

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते ।
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति २५.५४ प्रतिशत भएको छ ।
नेपाली सेनाका अनुसार गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति २५.५४ प्रतिशत तथा वित्तीय प्रगति २८.११ प्रतिशत (मोविलाईजेशन समेत गरी) रहेको छ ।
नेपाली सेनाले निर्माण गरिएको द्रुतमार्ग सडक आयोजनाको सुरुङमार्ग निर्माणको लागि प्याकेज नं.१ (महादेवटार) चिनिया निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियर कर्पोरेसन लिमिटेड र प्याकेज नं.२ (धेद्रे र लेनडाँडा) मा चिनियाँ निर्माण कम्पनी पोली चङडा इन्जिनियरिङ कम्पनी लिमिटेडसँग आव २०७७÷७८ मा निर्माण सम्झौता भएको थियो ।
ठेक्का सम्झौता अनुरुप दुवै प्याकेजको डिजाइन कागजात प्राप्त भई कन्सल्ट्याण्टद्वारा समीक्षा गरी २०७८ चैत २९ गते स्वीकृत प्रदान गरी निर्माण सुरु भएको छ ।
महादेटार सुरुङअन्तर्गत प्रवेशद्वारको दायाँतर्फ ५६४ मिटर तथा बायाँतर्फ ६०४ मिटर उत्खनन् कार्य सम्पन्न भएको छ । त्यसैगरी बहिरगमनद्वारको दायाँतर्फ ५५९ मिटर र बायाँतर्फ ५७२ मिटर खन्ने कार्य सम्पन्न भएको छ । महादेवटार सुरुङमार्गको कुल तीन हजार ३५५ मिटर लम्बाईमध्ये गत आव २०७९÷८० को वार्षिक लक्ष्य १०८० मिटर रहेकोमा ११५० मिटर प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।
प्याकेज नं. १ को कुल चार वटा पुलमध्ये जम्मा दुई वटा पुलको जग खन्ने कार्य भइरहेको ।
यस्तै धेद्रे सुरुङ अन्तर्गत प्रवेशद्वारको दायाँतर्फ ४८६ मिटर तथा बायाँतर्फ ३३३ मिटर निर्माण भएको छ ।
धेद्रे सुरुङ्गमार्गको कुल १६३० मिटर लम्बाई मध्येको ४०९.५ मिटर खन्ने कार्यसम्पन्न भएको छ ।
साथै लेनडाँडा सुरुङमार्गको कुल १४३० मिटर लम्बाईमध्येको ४२७ मिटर खन्ने कार्यसम्पन्न भएको छ ।
प्याकेज नं. २ अन्तर्गत जम्मा पाँच वटा पुल मध्ये सबै पुलहरुको जग खन्ने कार्य असार मसन्तसम्ममा सुरु भइसकेको छ ।
द्रुतमार्गको खण्ड प्याकेज नं.३, ४ र ५ (राजदमार–निजगढ खण्ड) को द्रुतमार्ग तथा पुल निर्माण कार्य भइरहेको छ ।
द्रुतमार्ग खण्ड प्याकेज नं.३ अन्तर्गत २०७८ माघ ३ गते ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ । १४ वटा पुलको जग खन्ने कार्यसम्पन्न भएको छ ।
द्रुतमार्ग खण्ड प्याकेज नं.४ अन्तर्गत २०७८ फागुन ९ गते ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ । यस प्याकेजमा १४ वटा पुलमध्ये पाँच वटा पुलको जग खन्ने कार्य भइरहेको छ । उता द्रुतमार्ग खण्ड प्याकेज नं.५ को २०७८ फागुन ९ गतेनै ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको आयोजनाको भनाई छ ।
द्रुतमार्गको खण्ड प्याकेज नं.६ र ७ (लेनडाँडा–राजदमार खण्ड), प्याकेज नं.८ (मख्खुवेशी खण्ड) तथा प्याकेज नं.९ र १० (सिस्नेरी–महादेवटार खण्ड) अन्तर्गत प्याकेज नं.६ को २०७९ पुस २६ गते खरिद सम्झौता सम्पन्न भई गत माघ २८ गतेबाट काम सुरु भएकोमा हालसम्म क्याम्प निर्माण, क्रसर प्लान्ट निर्माणलगायतका प्रारम्भिक चरणका कार्यहरु सम्पन्न भई द्रुतमार्ग निर्माणको कार्य शुरु हुने तयारीमा रहेको छ ।
यस्तै प्याकेज नं.७ मा गत मङ्सिर २ गते खरिद सम्झौता सम्पन्न भई २४ गतेबाट काम सुरुभएकोमा हालसम्म क्याम्प निर्माण, क्रसर प्लान्ट निर्माणलगायतका प्रारम्भिक चरणका कार्यहरु सम्पन्न भई द्रुतमार्ग निर्माणको कार्य शुरु हुने तयारीमा रहेको छ ।
प्याकेज नं. ८क, ८ख (मख्खुवेंसी खण्ड) तथा प्याकेज नं. ९क, ९ख र १० (सिस्नेरी–महादेवटार खण्ड) को सन्दर्भमा मन्त्रीपरिषद्को गत वैशाख ५ गतेको निर्णयबमोजिम आयोजनाको समयावधि २०८१ म्ङ्सिरबाट २०८३ चैत्रसम्म मिलान भएपश्चात् खरिद प्रकिया अगाडि बढाइएको छ ।
सडक तथा पुल निर्माणको प्याकेज नं. ८क, ९क र ९ख को गत वैशाख ८ र १० गते बोलपत्र आव्हान गरिएकोमा गत असार ४ गते खोलुवा भइ मूल्याङ्कन हुँदा कुनैपनि निर्माण व्यवसायीहरु छनौट हुन नसकी खरिद प्रकृया रद्ध भएकोमा गत असार २८ गते पुनः बोलपत्र आव्हान गरिएको छ ।
प्याकेज नं. ८ख र १० मा सुरुङ्ग प्रस्तावसहित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रथम संशोधन स्वीकृतिको लागि पेस भएको र सो को स्वीकृतिपश्चात् उक्त प्याकेजहरुको बोलपत्र आव्हान गरिने योजना रहेको छ ।
प्याकेज नं.११ (खोकना–बुङ्गमति खण्ड) मा सोअन्तर्गत पर्ने खोकना जग्गा अधिग्रहण विवाद समाधानपश्चात् निर्माण कार्य अगाडि बढाउने योजना रहेको आयोजनाको भनाई छ ।
गत चैत २३ गते सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकबाट “काठमाडौँ–तराई÷मधेश द्रुतमार्गअन्तर्गत खोकना बुङ्गमति क्षेत्रमा अधिग्रहण भएको जग्गा विवादको समस्या समाधान गर्ने प्रस्ताव तीन महिनाभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका आर्थिक पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालय तथा गृह मन्त्रालयका सचिव र नेपाली सेनाका सो आयोजना हेर्ने रथी सदस्य रहेको समिति गठन गर्ने” निर्णय भएको थियो ।
यसैगरी गत वैशाख ५ गते काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुर जिल्लाको खोकना ईलाकाको जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न माननीय उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।
द्रुतमार्ग ईलाकाको लागि जग्गा प्राप्ति सम्बन्धमा. आयोजनालाई आवश्यक जग्गा अधिग्रहण सम्बन्धमा विभिन्न मितिहरुमा सूचना प्रकाशन भएअनुसार काठमाडौँ, ललितपुर र मकवानपुर जिल्लामा गरी जम्मा ४०६ रोपनी जग्गा अधिग्रहण कार्य बाँकी रहेको छ ।
प्याकेज नं. १ देखि ५ सम्मको डिजाइन अनुकूलपश्चात् तयार गरिएको प्रभाव मुल्याङ्कन प्रतिवेदन गत जेठ गते नेपाल सरकारबाट स्वीकृत भई जग्गा अधिग्रहणको लागि प्रक्रियामा रहेको छ ।
पूर्वस्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुार ३८ हजार ६६४ वटा रुख कटान गर्नुपर्नेमध्ये २८ हजार ६४६ वटा रुख कटान भएको र गत असार मसान्तसम्ममा बाँकी १० हजार १८ वटा रुख कटान प्रक्रियामा रहेको पाइएको छ ।
कटान भएको रुखहरुको बदलामा रोप्नुपर्ने सात लाख नौ हजार ८५० बिरुवामध्ये विभिन्न आथिक वर्षमा गरी हालसम्म जम्मा ५१०.०९ हेक्टरमा विभिन्न प्रजातिका जम्मा छ लाख १४ हजार ५९५ बिरुवा रोप्ने कार्य सम्पन्न गरी संरक्षणको व्यवस्थासमेत मिलाइएको र निरन्तर वृक्षरोपण भइरहेको जनाइएको छ ।

तस्विरः काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग । तस्विरः नेपाली सेना ।

ताजा समाचार

Related Articles