हेटौँडा, असोज ३० गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बुधबार एक कार्यक्रमकाबीच दुवै समुदायलाई पूर्ण सरसफाई उन्मुख समुदाय घोषणा गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक भएको भन्दै एक घर एक धारा पु¥याउने लक्ष्य अनुरुप विभिन्न संस्थाहरुसँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको बताउनुभयो । सरसफाइ र खानेपानी परिपुरक रहेकाले सबैले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँको भनाई छ ।

खानेपानी योजनाको मर्मत सम्भार र संरक्षणको काम अब समितिको रहेको भन्दै उहाँले खानेपानीको मुहान दर्ता गर्नुपर्ने र मुहानको बीमा गरिए विपत्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने सुझाउनुभयो ।
वडा ७ का वडाध्यक्ष उदास कुमार भोलनको अध्यक्षतामा भएको विलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा ७ का वडा सचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीरशंकर मुक्तानलगायतको उपस्थिति रहेको थियो । बिलाउने टोलमा २६ घरधुरी लाभग्राही रहेका छन् ।

वडाध्यक्ष भोलनले घरघरमा रहेको धाराको पानीलाई सदुपयोग गरी मर्मत र संरक्षणको लागि समिति तयार अवस्थामा रहनुपर्ने भन्दै दीगोपनाका लागि लाभग्राहीको सक्रिय सहभागिता रहनुपर्ने बताउनुभयो ।
त्यस्तै, कैलाश गाउँपालिका ८ रुपराङ्ग—रान्चुराङ्ग टोललाई वडाध्यक्ष आशिष प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले पूर्ण सरसफाई उन्मुख घोषणा गर्नुभयो । उक्त टोलमा भने ४४ घरधुरी लाभग्राही छन् ।

रुपराङको कार्यक्रममा वडा सदस्य विपीराज थिङ, मित्रकुमारी मुक्तान, आरआरएनका संयोजक लीलबहादुर कार्की, भार्ता स्वास्थ्य चौकीका सिनियर अहेव शोभा राना, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुलाल प्रजालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखि धारासम्मको संरक्षण हाम्रो दायित्व हो भन्दै लामो समयपछि रुपराङमा घरघरमा पानी आएको र साझेदारी कार्यक्रम अन्तर्गत अर्को टोलमा पनि कार्यक्रम गरिने जानकारी दिनुभयो ।

आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटक एक घर, एक धारा अभियान अन्तर्गत पूर्ण सरसफाई उन्मुख समुदाय घोषणा गरिएको हो ।
