हेटौँडा, वैशाख २३ गते ।
बागमती प्रदेश सरकारले यही वैशाख २४ गते बुधबारका दिन बागमती प्रदेश भर सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा गरेको हो ।
प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको दिन वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको मन्त्रीपरिषद्ले यसअघि निर्णय गरेको थियो ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० गत वर्ष वैशाख २४ गतेबाट कार्यान्वयनमा ल्याइएसँगै गत वर्षबाट प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिन थालेको हो ।
यसैबिच प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी बबिता कार्कीद्वारा जारी सूचनामा बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णयभएको उल्लेख छ ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा आएसँगै बागमती प्रदेश सरकारका कार्यालयहरुमा देवनागरी लिपिमा लेखिने नेपाली भाषाको अतिरिक्त तामाङ भाषामा प्रयाग हुने लिपि र नेपाल भाषामा प्रयोग हुने लिपिलाई समेत प्रयोगमा ल्याउन सकिने व्यवस्था गरिएको छ ।
