खासकुरा संवाददाता
हेटौँडा, जेठ १ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नो स्थानीय विषयवस्तुमा आधाररित “हाम्रो कैलाश“ नामक पुस्तक विद्यालयलाई वितरण गरेको छ । गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बिहीबार विद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक वितरण गर्नुभएको हो ।
पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा रहेका कला संस्कृति, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको पुस्तकले बालबालिकामा कैलाशकाबारे ज्ञान प्राप्त हुने बताउनुभयो ।
उक्त पुस्तकमा स्थानीय रहन सहन, जातजातीय, कला संस्कृति, परम्परा लगायत यहाँको भौगोलिक अवस्थाबारे सबै बालबालिकामा थाहा हुने गरी विज्ञबाट पुस्तक तयार पारिएको हो ।
उहाँले समग्र कैलाशको शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कक्षा ८ को परीक्षा समीक्षा समेत रहेकाले अध्यक्ष मुक्तानले नतिजा अनुरुप शिक्षामा गुणस्तर नभएको भन्दै उहाँले शिक्षाको गुणस्तरमा सुधार ल्याउन विद्यालय प्रधानाध्यपकहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, विकट छ, विद्यार्थी र शिक्षकहरु नै आवतजावतमा समस्या छ, त्यसमा पनि विज्ञान, गणित अंग्रेजी विषयका शिक्षक अभावमै पठनपाठन गराउनुपर्ने हाम्रो बाध्यता रहेको छ ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाले शिक्षामा पर्याप्त लगानी गर्दै आइरहेको भन्दै विद्यार्थीहरु विद्यालयमा टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा पनि पालिकामा क्रमिक रुपमा शिक्षामा सुधार हुँदै आइरहेको बताउनुभयो । उहाँले शिक्षक अभावकै कारण कतिपय विषयगत शिक्षक बाहेकले पनि अध्यापन गराउँदै आइरहेको अवस्था छ, भौगोलिक विकटताका कारण शिक्षक आउन नमान्ने गरेको उहाँले सुनाउनुभयो ।
गाउँपालिकाको १० वटा निमावि तथा मावितहका विद्यालय छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि हाम्रो कैलाश पुस्तक गत शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । गतवर्षको ईमिस प्रणालीमा दर्ता भएको तथ्याङ्कको आधारमा कक्षा ६ मा ४४१, कक्षा ७ मा ३९४ र कक्षा ८ मा ४०५ जना विद्यार्थीको लागि पुस्तक प्रकाशित गरिएको जोशीले बताए ।
उक्त कार्यक्रममा कक्षा ८को अन्तिम परीक्षाको समीक्षा समेत गरिएको छ । इमिस प्रणालीमा ३९८ विद्यार्थी दर्ता भएता पनि परीक्षामा ३४४ जना विद्यार्थी सहभागी रहेको शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताउनुभयो । परीक्षामा सहभागीमध्ये १८१ जना उत्र्तीण भएका छन् । ३.४० जिपिएभन्दा बढी ल्याउने विद्यार्थीको संख्या १५ जना रहेको अधिकारीले बताउनुभयो ।
