हेटौँडा, जेठ ४ गते ।
मकवानपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ । हेटौँडा र इन्द्रसरोवर गाउँपालिकामा भएको दुर्घटनामा परी घाइतेभएकाहरुको उपचारको क्रममा मृत्युभएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कर्रास्थित सडक खण्डमा सवारी दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरी बस्ने वर्ष ५८ को सीताराम वि.क. को मृत्युभएको हो ।

हेटौँडा बजारबाट पशुपतिनगर तर्फ जाँदै गरेको ना ५३ प १२७४ नं. को मोटरसाइकललाई पशुपतिनगर तर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको अटोले शनिबार साँझ ठक्कर दिइ दुर्घटना हुँदा सोही दिशा तर्फ जाँदै गरेको ना ६ ख १३७ नं.को १२ चक्के खाली ट्रकले समेत ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार सीताराम वि.क. को ढाड र कम्मरमा चोट लागी गम्भीर घाइते भई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा शनिबार राति १९ः१२ बजे डाक्टरले मृत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक मृतकका छोरा वर्ष ३१ का राज वि.क.को दाहिने हात र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
प्रहरीले ट्रक, ट्रक चालक तनहुँ ब्यास नगरपालिका ५ चाँपाघाट बस्ने वर्ष ३७ को सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको र नम्बर नखुलेको अटो तथा अटो चालकको खोजतलास भईरहेको जनाएको छ ।
यस्तै मकवानपुरका इन्द्रसरोवर गाउँपालिका ४ स्थित महालक्ष्मीखोला फाखेल सडक खण्डमा वीरगंजबाट काठमाडौँतर्फ जादै गरेको ना.१ ज २४२९ नं.को टाटा सुमो दुर्घटनामा परी भारतको मोतिहारी जिल्ला बस्ने वर्ष ६० का ललन चौधरीको मृत्युभएको छ ।

प्रहरीका अनुसार उक्त सुमो उकालो चढ्न नसकी पछाडि सर्न गई सडकको भित्तामा पछाडि भाग ठोक्किएर दुर्घटना भएको थियो ।
चौधरीको खुट्टा र टाउँकोमा चोट लागेपछि शुक्रबार नभिर्क अस्पताल थापाथली काठमाडौँमा भईरहेकोमा उपचारको क्रममा शनिबार डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त सुमोमा नौ जना सवार रहेका थिए ।
