खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम सोमबारबाट सुरु भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाले बालबालिकाका साथै किशोरकिशोरी, युवा र जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनुभयो ।

उहाँले १२ पास र २० वर्ष पुरा गरी विवाह गर्ने चेलीहरुलाई नगद सहित सम्मान गर्दै आइरहेको भन्दै छिट्टै नै बालबालिका केन्द्रित खेलकुद कार्यक्रम गर्न लागेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमले बालबालिका, किशोरकिशोरी र युवाका कुरा संकलित हुने र आगामी नीति तथा कार्यक्रममा ती विषयवस्तु समेटेर अघि बढ्ने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यालय स्तरमा रहेका किशोर विद्यार्थीहरुसँगको अन्तरक्रियाले स्थानीय सरकारलाई बालबालिका र युवा लक्षित कार्यक्रम निर्माण गर्न सहज हुने बताउनुभयो ।

गाउँपालिकामा रहेका छ वटा माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहने जनाइएको छ । गाउँपालिकाको सहयोग र रुद्राक्ष समाज नेपालको आयोजनामा भएको सो कार्यक्रम सुरु सो कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।

समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा तालिमको उद्घाटन कार्यक्रममा प्रशिक्षक बालिका चौंधरी, भवानी माध्यामिक विद्यालयका प्रअ बालचन्द्र मल्ल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
