खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ मा दुना टपरी बनाउने १५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ । लालित्य सेवा प्रतिष्ठानको आयोजनामा सञ्चालित तालिममा स्थानीय २५ जना महिला सहभागी भएका थिए ।

तालिमको समापनमा राक्सिराङ गाउँपालिका अध्यक्ष राज कुमार मल्लले सीप र उत्पादनसँगै रोजगारी सिर्जना गर्न यस्ता तालिम उपयोगी बताउनुभयो । उहाँले गाउँपालिकाले रोजगारमूलक तालिमलाई निरन्तरता दिने भन्दै उद्यमशीलतामा संलग्न समुहलाई सक्रियताको आधारमा पालिकाले अनुदान समेत दिने बताउनुभयो ।

तालिम अवधिमा सहभागीहरूले पातबाट दुना, टपरी, बटुका जस्ता सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने विधि, मेसिनको प्रयोग तरिका तथा उत्पादनलाई बजारसम्म पु¥याउने उपायहरूका बारे प्रशिक्षण दिइएको थियो ।
तालिममा प्रयोग गरिएका मेसिन सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ ।

सामुदायिक वनमार्फत महिलाहरूको समूह बनाएर उत्पादनलाई निरन्तरता दिने र व्यवसायिक रूपमा अघि बढाउने तयारी भइरहेको समूह अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । तालिममा सहभागी महिलाहरूले आफूहरूलाई आत्मनिर्भर बनाउने मौका मिलेको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास अधिकृत गोविन्द अधिकारी, वडा नं. ३ का वडाध्यक्ष उत्तम वाइबा, समाजसेवी वीरेन्द्र जिम्बा, लालित्य सेवा प्रतिष्ठानका अध्यक्ष मुना पाठकलगायतको आतिथ्यता रहेको थियो ।
