खासकुरा संवाददाता
हेटौँडा, जेठ ११ गते ।
सप्तरी जिल्लास्थित कोशी बाँधको पिनटावर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । 

‘छोटो-पुछ्रे समुन्द्री चरा’ अभिलेख गरिएको हो । चराविद् अनिश तिम्सिनाले चरा अवलोकनका क्रममा उक्त नयाँ चरा फेला पार्नुभएको नेपाल पन्छीविद् संघले जनाएको छ ।

नेपालको अभिलेखमा चरा प्रजातिको संख्यामा एउटा प्रजातिको चरा थप भएसँगै अब नेपालमा जम्मा चरा प्रजातिको संख्या नौ सय पुगेको संघद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालका चराविद् तिम्सिनाले उक्त चरा पहिलोपटक वैशाख २० गते बिहान ९ः०६ बजे देख्नुभएको थियो ।
नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार कोशी व्यारेजमा रहेको पिनटावरबाट कोशी बाँध जलासयमा पौडी खेलिरहेको अवस्थामा उक्त चरा भेटिएको हो ।

पौडी खेलिरहेको र आहार खोज्दै गरेको अवस्थामा सो चराको फोटो र भिडियो खिचेर २२ वैशाखमा थप पुष्ट्याइँका लागि तिम्सिनाले नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौँमा पठाउनुभएको थियो ।

नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्तिमा प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविद्हरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको उल्लेख छ ।

सो अवस्थामा यो चराले आफ्नो पखेटा र शरीरलाई सफा गरिरहेको देखिएको थियो । पानीको वहावसँगै तलतिर बगिरहेको थियो, कबि ७० मिटर तल पुगेपनि पुनः उडेर माथितिर फर्कन्थ्यो विज्ञप्तिमा भनिएको छ ।

सो चराको नेपाली नाम ‘छोटो–पुछ्रे समुन्द्री चरा’ राखिएको छ । यो चरा अस्ट्रेलिया, अन्टार्टिका, क्याना, कोस्टारिका, फिजी, जापान, भारत, न्यूजील्याण्ड, रुस, श्रीलङ्का, दक्षिण कोरियालगायतका देशमा पाइन्छ र यी क्षेत्रहरुमा प्रजनन् पनि गदर्छ ।
नेपालमा फिरन्ते रुपमा यो चरा आएको अनुमान गरिएको हो । गत चैत १२ गते इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेका थिए ।



